मधेश प्रदेशले प्रदेश प्रहरी नियुक्त गर्ने, खेलाडीका लागि जीवन निर्वाह भत्ता

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रदेश प्रहरी गठनको प्रक्रिया अघि बढाउने घाेषणा गरेकाे छ । 

सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रदेशका कानुनलाई थप जनमुखी र प्रभावकारी बनाउने नीति लिइएको बताए । प्रदेशको शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन ६८ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

संघीय संरचनाको मर्मअनुसार प्रदेश प्रहरी गठन तथा परिचालनका लागि आवश्यक तयारी अगाडि बढाइने बजेटमा उल्लेख छ । प्रदेश सरकारले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउँदै नागरिकको सुरक्षामा जोड दिने जनाएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक स्थानीय तहमा ‘एक पालिका, एक खेल मैदान’ कार्यक्रम सञ्चालन गरिने र खेलाडीलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने उनले घोषणा गरे ।

साथै प्रदेशका खेलाडीलाई प्रोत्साहन र संरक्षणका लागि जीवन निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

युवा लक्षित कार्यक्रमअन्तर्गत नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘नवप्रवर्तन स्टार्टअप कार्यक्रम’ सञ्चालन गरिने उनले बताए । युवाहरूमा नवीन सोच, सिर्जनशीलता र उद्यम विकासको वातावरण तयार गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको सरकारले जनाएको छ ।

त्यस्तै, १८ देखि ३५ वर्ष उमेर समूहका बेरोजगार युवालाई लक्षित गरी १०० दिने सीप तथा क्षमता विकास प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उनले घाेषणा गरे । तालिममार्फत युवालाई रोजगारी तथा स्वरोजगारमा जोड्ने लक्ष्य बजेटले लिएको छ ।

मधेश प्रदेश सरकारले यसअघि नै युवालाई बिनाधितो ऋण, डिजिटल उद्यमी उत्पादन, औद्योगिक करिडोर निर्माण, स्वास्थ्य बीमा कार्यान्वयन र शिक्षा सुधारका कार्यक्रम घोषणा गरिसकेको छ ।

Share News