काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही जिल्ला अदालतले पनि संशोधन गरेको छ ।
जिल्ला अदालत रुपन्देहीले लामिछानेसहितका आरोपीविरुद्ध दायर मुद्दा संशोधन गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप हटाएको हो ।
जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले उक्त अभियोग संशोधन गरेको हो । अधिकारीको इजलासको आदेशपछि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै कायम रहेको छ ।
इजलासको आदेशले भनेको छ, ‘मुद्दामा सहकारी ठगीको अभियोग दाबी कायमै राखी अन्य संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग दाबीको हकमा अभियोग संशोधन हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ बमोजिम यो आदेश जारी गरिदिएको छ ।’