१० वटा सहकारी खारेज गर्दै कोशी सरकार

काठमाडौं । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले विभिन्न १० वटा सहकारी संस्था खारेज गर्ने भएको छ । कार्यालयले आफ्नो नियमन क्षेत्राधिकारभित्रका विभिन्न सहकारी संस्थालाई खारेज गर्ने भएको हो । 

तोकिएको समयमा अद्यावधिक नभएका र स्थलगत अनुगमनमा समेत सञ्चालनमा नरहेको पाइएका संस्थालाई प्रदेश सहकारी ऐन, २०७६ (संशोधनसहित) को दफा ७३ अनुसार खारेज गर्न लागेको हो । साथै खारेज गर्नु अघि कार्यालयले १५ दिनको सफाइ पेश गर्ने अवसर दिएको छ । १५ दिनभित्र सम्पर्कमा नआए ती सहकारी संस्थालाई कानुनअनुसार खारेजी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा दर्ता भएका निष्क्रिय सहकारी संस्थाहरूमा मोफसल प्रकाशन सहकारी संस्था, कोशेली बचत तथा ऋण सहकारी, नवजागरण बहुउद्देश्यीय सहकारी संस्था, युवा कृषि सहकारी संस्था, निलकण्ठ कृषि सहकारी संस्था, आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था रहेका छन् । 

यस्तै, जब्दो महिला कृषक बचत तथा ऋण सहकारी संस्था, आदर्श कृषि सहकारी संस्था र तीनकुने महिला बचत तथा ऋण सहकारी संस्थालाई पनि सफाइ पेश गर्न अन्तिम मौका दिइएको छ ।

कार्यालयका अनुसार पटक-पटक सूचना दिँदा पनि संस्थाहरूले अद्यावधिक नगरेको, तथा अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएपछि कडा कदम चाल्न बाध्य भएको हो । 

Share News