काठमाडौं । सम्पत्ति शुद्धीकरण र विदेशी मुद्रा विनिमय ऐन कसुरमा पुर्पक्षका लागि दीपक भट्ट थुनामा छन् ।
बुधबार (असार ३ गते) विशेष अदालतले उनीविरुद्धको सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै डिल्लीबजार कारागार चलान भएका हुन् ।
अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनको करोडौं पर्ने ०१–०३३ च १ नम्बरको गाडीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिएको छ ।
अदालतले आदेश दिएसँगै उनले चलाइरहेको सवारी गृहमन्त्रालय अन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्था विभागमा पठाइएको छ ।
अदालतको तत्कालै आदेश आएपछि भट्टको गाडीलाई विभागमा ल्याइने कसुरजन्य सम्पत्ति व्यवस्था विभागका उपसचिव सुभाष न्यौपानेले बताए।
‘चलिरहेको गाडी बिग्रन सक्छ वा खिया पर्छ भनेर तत्कालको लागि विभागले अदालतसँग लिलाममा राख्न आदेश माग्न सक्छ,’ उनले भने, ‘लिलाममा राखेर बिक्री भएको गाडीलाई चलनचल्ती मूल्यमा बिक्री गरेर धरौटी खातामा राखिन्छ ।’
मुद्दाको अन्तिम फैसला नआएसम्म धरौटी खातामा पैसा रहने न्यौपानेको भनाइ छ । सरकारले मुद्दा जितेमा धरौटी रकम सरकारले लैजाने र सरकारले हारेमा जित्ने व्यक्तिले धरौटीबापतको पैसा लैजाने उनले जानकारी दिए ।
अदालतको आदेशबिना विभागले जफत गरेका सवारीसाधनलाई केही गर्न नपाइने न्यौपानेले बताए । ‘सवारीसाधन प्रयोगमा ल्याउन वा धरौटी तथा अन्य जुनसुकै प्रयोजनका लागि पनि अदालतको आदेश लिनै पर्छ,’ उनले भने ।
अदालतले अन्तिम फैसला दिएर सवारीसाधन जफत गर्न आदेश दिएको अवस्थामा भने सरकारी प्रयोजनमा ल्याउन सकिने उनले बताए ।
जुनसुकै मुद्दामा सवारीसाधन प्रमाणको रुपमा देखिएमा प्रयोग गर्न वा लिलामी राख्न अदालतको आदेश लिनैपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।
‘हाम्रो काम भनेको अदालतबाट आएका सवारीसाधनलाई सुरक्षितसाथ राखेर उचित मूल्यांकन गराउने मात्र काम हो,’ उनले सुनाए ।
त्यसैगरी, भट्टको घरमा फेला परेको अमेरिकी डलर र थाइ भाट राष्ट्र बैंकमा बुझाइएको छ ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) १२ बमोजिमको कसुरमा तत्कालका लागि दोषी देखिएपछि घरमा फेला बरामद गरिएको विदेशी मुद्रा अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाइदिन आदेश दिएको हो ।
भट्टको नाममा रहेका दशी स्वरूप पेश भएका मोबाइल समेतका सामानहरू अदालतको जिन्सीमा आम्दानी बाँध्न आदेश दिएका हुन् ।