दीपक भट्टको घरमा भेटिएको डलर र थाइभाट राष्ट्र बैंक पठाइयो

फाइल तस्विर

काठमाडौं । विशेष अदालतको आदेशपछि सम्पत्ति शुद्धीकरण र विदेशी विनिमय अपचलन मुद्दाका आरोपी दीपक भट्टको घरबाट बरामद गरिएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंक पठाइएको छ । 

अदालतको फैसला र आदेशसँगै भट्टको घरमा फेला परेको २ हजार अमेरिकी डलर र ३० हजार थाइभाट राष्ट्र बैंक बुझाइएको हो ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हिटानका अनुसार भट्टको घरबाट १०० दरका २० थान अमेरिकी डलर र १ हजार दरका ३० थान थाइभाट बरामद भएको थियो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिमको कसुरमा भट्ट तत्कालका लागि दोषी देखिएको ठहर गरेको छ । 

सोही ठहरका आधारमा बरामद विदेशी मुद्रा राष्ट्र बैंक पठाउन अदालतले आदेश दिएको हो ।

अदालतले विदेशी मुद्राका अतिरिक्त भट्टको साथबाट बरामद भएका अन्य सामग्रीहरू पनि व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

दशीका रूपमा पेश गरिएका मोबाइल लगायतका सामानहरू अदालतको जिन्सी शाखामा आम्दानी बाँध्न आदेश दिइएको छ ।

त्यसैगरी, आरोपपत्रसाथ पेश गरिएको ०१ ०३३ च १ नम्बरको गाडीलाई प्रचलित कानुन बमोजिम व्यवस्थापनका लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन भनिएको छ ।

विशेष अदालतको बुधबारको थुनछेक आदेशपछि दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाइएको छ । 

अदालतले उनीहरूलाई तत्कालका लागि दोषी देखिने पर्याप्त आधार रहेको भन्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

Share News