काठमाडौं । सदर चिडियाखाना, जावलाखेलमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गोप्य राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन् ।
कोषकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको जिम्मेवारीबाट हटाएको छ । साथै, चिडियाखानामा फैलिएको बर्ड फ्लुको कारण र समग्र घटनाबारे अनुसन्धान गर्न कोषकी प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री सदस्य रहेका छन् । समितिलाई एक साताभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
वन्यजन्तुको सुरक्षा तथा सूचना प्रवाहमा संवेदनशीलता नदेखाएको भन्दै कोषले साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । साहलाई जिम्मेवारीबाट हटाइएपछि चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ ।
पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु पुष्टि भएको थियो। चिडियाखानामा करिब १० दिनअघिदेखि नै पन्छी तथा जनावर मर्न थालेका भए पनि यसबारे राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी दिएका थिएनन् । चराचुरुङ्गी मर्ने क्रम नरोकिएपछि गरिएको परीक्षणमा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु संक्रमण पुष्टि भएको थियो ।
रोग संक्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा पनि केन्द्रीय कार्यालयलाई जानकारी नदिएको भन्दै साहलाई जिम्मेवारीबाट हटाइएको हो ।
पछिल्ला समय चिडियाखानामा भएका श्रृंखलाबद्ध घटना तथा बर्ड फ्लुजस्तो संवेदनशील विषयमा समयमै केन्द्रलाई प्रतिवेदन नपठाएको भन्दै कोषले साहमाथि विभागीय कारबाही गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।