काठमाडौं । घोराही उप-महानगरपालिकाले पछिल्लो ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगर प्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो ९ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ ।
नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उनले बताए । सहरी सौन्दर्यीकरण र सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याइएको छ । नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम कम गरिएको छ ।
खानेपानी र सिँचाइमा आत्मनिर्भरता नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिएको नगर प्रमुख चौधरीले बताए । कृषि क्षेत्रलाई लक्षित गरी ४३ कृत्रिम जलाशय निर्माण गरिएका छन् । जसबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको उनको भनाइ छ । ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र ७ वटा शौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ ।
नगर प्रमुख चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा शिक्षा क्षेत्रमा २७ विद्यालय भवन र ३९ नयाँ कक्षाकोठा थपिएका छन् भने अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । स्वास्थ्यतर्फ २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् । सामाजिक सुरक्षाका क्षेत्रमा १७ हजार ३७४ लाभग्राहीलाई बैंकमार्फत ६३ करोड ५८ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
घोराहीले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरी शासन प्रणालीलाई विधिसम्मत बनाएको छ । वडास्तरबाटै अनलाइन घटना दर्ता, अनलाइन नागरिकता सिफारिस र राजस्व सङ्कलनजस्ता विद्युतीय शासन प्रणाली लागू गरी सेवा प्रवाहलाई छिटो तथा पारदर्शी बनाइएको नगरप्रमुख चौधरीले बताए । वातावरण संरक्षणका लागि एक हजार ३०० थान इन्डक्सन चुलो र ४५० थान सुधारिएको चुलो वितरण गरी धुवाँ मुक्त भान्सा अभियानलाई समेत सहयोग पुर्याइएको छ ।