रास्वपाको महाधिवेशन एक दिन लम्बिन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा पछाडि धकेलिँदै गएपछि महाधिवेशन एक दिनसम्म लम्बिन सक्ने संकेत देखिएको छ ।

सोमबार बन्दसत्र सुरु हुन ढिलाइ भइरहेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिन सक्ने सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले कार्यक्रम प्रभावित हुन सक्ने विषयमा महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकमै छलफल गरिएको थियो ।

‘बन्दसत्र ढिला भएर हामी आत्तिएका छैनौं । यसलाई स्वाभाविक रूपमा लिएका छौं । यस्ता सम्भावनाका कारण महाधिवेशन एक दिन लम्बिन सक्छ भन्ने विषयमा अस्ति केन्द्रीय समितिको बैठकमै चर्चा भएको थियो । त्यसैले हामी मानसिक रूपमा तयार छौं,’ झाले भने ।

रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने कार्यक्रम रहे पनि प्रतिनिधि व्यवस्थापन, दाबी–विरोध तथा नेतृत्व चयनसम्बन्धी आन्तरिक छलफलका कारण निर्धारित समयमा कार्यक्रम अगाडि बढ्न सकेको छैन ।

यसैबीच, महाधिवेशन प्रतिनिधिको संख्या पनि अपेक्षाभन्दा बढेको रास्वपाले जनाएको छ । प्रवक्ता झाले सोमबार बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि दर्ता भएको जानकारी प्राप्त भएको बताए ।

प्रतिनिधिको संख्या बढेसँगै व्यवस्थापन र प्रक्रियागत काममा थप समय लागेको उनको भनाइ छ ।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयनका साथै भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

महाधिवेशनको कार्यसूची प्रभावित भए पनि नेतृत्व भने प्रक्रिया सम्पन्न गरेर मात्रै कार्यक्रम टुंग्याउने तयारीमा रहेको छ ।

Share News