काठमाडौं । प्रिमियम होम अप्लायन्स ब्रान्ड ‘बोश’ ले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै ललितपुरको जावलाखेलमा पहिलो ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ ।
बीएसएच होम एप्लायन्सेज प्रा.लि.ले लक्ष्मी ग्रुपसँगको सहकार्यमा उक्त स्टोर सञ्चालनमा ल्याएको हो । नयाँ स्टोरमार्फत उपभोक्ताले रेफ्रिजेरेसन, लन्ड्री, डिशवाशिङ, फुड प्रिपरेसन तथा बिल्ट-इन किचन समाधानसम्बन्धी बोशका प्रिमियम उत्पादन प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।
कम्पनीका अनुसार नेपालमा शहरीकरण, बढ्दो आयस्तर र प्रविधिमैत्री जीवनशैलीप्रतिको आकर्षणसँगै प्रिमियम होम अप्लायन्सको माग बढ्दो छ । यस्तो परिवेशमा बोशले उच्च गुणस्तर, टिकाउपन र नवप्रवर्तनयुक्त उत्पादनमार्फत उपभोक्ताको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको जनाएको छ ।
बोशले विशेषगरी फ्रन्ट-लोड वाशिङ मेसिन, डिशवाशर तथा बिल्ट-इन किचन समाधानमा नेपालमा ठूलो सम्भावना देखेको छ । कम्पनीका अनुसार नेपालको लन्ड्री बजारमा फ्रन्ट-लोड वाशिङ मेसिनको हिस्सा ७०–८० प्रतिशतभन्दा बढी रहेको छ ।
त्यस्तै, डिशवाशर प्रयोगप्रति पनि उपभोक्ताको रुचि क्रमशः बढ्दै गएको कम्पनीको भनाइ छ । बदलिँदो जीवनशैली, स्वच्छताप्रतिको सचेतना र समय बचत गर्ने आवश्यकताले यस्तो उपकरणको माग बढाउँदै लगेको उल्लेख गरिएको छ ।
लक्ष्मी ग्रुपले बोशसँगको सहकार्यले नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि र गुणस्तरयुक्त उत्पादनमा पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।
नयाँ ब्रान्ड स्टोरले उपभोक्तालाई उत्पादनको प्रत्यक्ष प्रदर्शन, विशेषज्ञ परामर्श तथा उन्नत ‘रिटेल एक्सपिरियन्स’ प्रदान गर्ने कम्पनीको अपेक्षा छ । साथै, देशभर रहेका डिलर सञ्जाल र बिक्रीपछिको सेवासँग मिलेर बोशले आफ्नो बजार विस्तारलाई थप मजबुत बनाउने जनाएको छ ।
कम्पनीले आगामी दिनमा उपभोक्ता शिक्षा, उच्चस्तरीय सेवा र उत्पादन विस्तारमार्फत नेपाललाई प्रिमियम होम अप्लायन्स बजारको महत्वपूर्ण केन्द्र बनाउने लक्ष्य लिएको जनाएको छ ।