काठमाडौं ।
घटना– १
एक साताअघि फेसबुक चलाइरहेका बेला सुवर्ण यादवको मेसेन्जरमा सुमित मण्डलको नामबाट मेसेज आयो, ‘विमानस्थलको अध्यागमन विभागमा मलाई रोकिएको छ । मलाई अप्ठयारो पर्यो । ५० हजार रुपैयाँ तुरुन्तै चाहियो,’ उनको मेसेजमा लेखिएको थियो । सुवर्णले आफूसँग पैसा नभएको बताए ।
केही समयलगत्तै पुनः सुमितले ‘२० हजार पठाइदिएको छु तर मलाई ५० हजार पठाएमात्र निकाल्न मिल्छ’ भन्दै मेसेज गरे । तिनले सुवर्णलाई ह्वाट्सएपमा क्युआरकोडसमेत पठाए । उनको मेसेजले सुवर्ण लोभिए ।
उनलाई कृषि विकास बैंकको क्युआर ह्वाट्सएपमा आयो । सुवर्ण हौसिए र आफू काम गर्ने अफिसको प्रमुखसँग मागेर ५० हजार पठाए । पटक–पटक गरेर उनले १ लाख ५० हजारजति पठाए ।
केही क्षणमै अध्यागमन विभागमा भएको दावी गर्ने ती व्यक्तिले उनलाई मेसेन्जरमा ब्लक गरिदिन्छन् । त्यसपछि बल्ल सुवर्णले आफू ठगिएको थाहा पाए ।
घटना– २
कपिलवस्तुबाट प्लस टु अध्ययन गर्न सीता मगर काठमाडौं आइन् । केही दिन आफन्तकोमा बसिसकेपछि उनले बिस्तारै कोठा खोजेर बस्ने योजना बनाइन् ।
उनी पनि सामाजिक सञ्जालमा चलाइरहन्थिन् । फेसबुकमा कोठा खोजिदिने विज्ञापन उनले देखिन् । कोठा आवश्यक परे म्यासेज र कल गर्नु भनेर आकर्षक विज्ञापन देखिन् ।
सीतालाई एउटा कोठा चाहिएको थियो । उनले आफ्नो आवश्यकताअनुसार कोठा विज्ञापनमा देखिन् अनि उनले तुरुन्तै विज्ञापनमा देखिएको नम्बरमा फोन गरिन् ।
कुराकानीकै सिलसिलामा उनले कोठा खोज्नुभन्दा अगाडि एडभान्स पैसा हाल्नुपर्ने शर्त थाहा पाइन् । कोठा खोजिदिने अफिसले पनि उनलाई अगाडि सेवा शुल्कस्वरूप ५ हजार हाल्दिनुपर्ने बताइन् ।
सीताले पैसा दिएको एक सातामा कोठामा पाउने शर्तमा पैसा दिइन् । पैसा दिएको केही दिनसम्म ती व्यक्ति निरन्तर उनको सम्पर्कमा थिए । कोठा खोजिदिने र खोजिरहेको मात्र जवाफ पाउने गर्थिन् उनी ।
दुई सातासम्म कोठा खोजिरहेको मात्र जवाफ पाएपछि सीताको मनमा चिसो पस्यो । केही दिनपछि उनले पुनः सम्पर्क गर्न खोज्दा फोन अफ थियो । कोठा खोजिदिने मानिसले उनलाई ह्वाट्सएप र फेसबुकमा ब्लक गरिसकेका थिए ।
सीताले सबैतिरबाट ब्लक भएको पाएपछि आफू ठगिएको थाहा पाइन् । न उनले कोठा पाइन् न त पैसा । त्यसपछि उनी उजुरीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगिन् ।
घटना– ३
केही महिनाअघि बिदा मनाउन चन्द्र श्रेष्ठ नेपाल आए । बिदा सकिएपछि उनलाई फेरि कतार जानु थियो । उनी पहिलो बिदामा नेपाल आउँदा कम्पनीले नै टिकट उपलब्ध गराएको थियो । पुनः कतार जानुपर्ने हुनाले उनले काठमाडौंकै ट्राभल्समा अनलाइनबाट सम्पर्क गरे। 'ब्लु स्काइ' ट्राभलको नामले प्रहरीकोमा उजुरी परेको छ ।
चन्द्रले सामाजिक सञ्जालबाट ट्राभल्ससँग सम्पर्क गरेका हुन् । उनले सबैथोक अनलाइनबाट हुने भएकाले पनि ट्राभल्सको अफिस धाइरहनु पर्ने झन्झट बेहोर्न चाहेनन् ।
ट्राभल्सको फेसबुक पेजमा सम्पर्क गर्दै उनले मेसेज गरे, ‘कतार जानका लागि टिकट काट्न पाइन्छ ?’ । ट्राभल्सको पेजबाट पनि अगाडि टिकट बुक गर्न पैसा लाग्ने जवाफ पाए । उनले पनि पैसा पठाइदिने बताए । मेसेन्जरमा उनले कुमारी बैंकको क्युआर पाएलगत्तै उनले पैसा पठाए ।
श्रेष्ठले पैसा पठाए पनि टिकटको कन्फर्मेसन भने पाएनन् । टिकट बुक गर्न पैसा हालेको त्यसको न रिसिभ पाए न बुक भएको मेसेज नै पाए । उनलाई ट्राभल कम्पनीको पेजबाट केही मिनेटमै फेसबुकबाट ब्लक गरियो । त्यसपछि बल्ल उनले आफू ठगिएको थाहा पाए । लगत्तै उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगे ।
प्रविधिले वित्तीय क्षेत्रमा सहजता बढाएको छ । सहजता र सुविधासँगै वित्तीय क्षेत्रमा जोखिम पनि बढाएको छ । प्रयोगकर्ताहरू दिनहुँ डिजिटल ठगीको सिकार भइरहेका छन् । मानिसहरूलाई भुक्तानी गर्न टाढा–टाढा जानुपर्ने झन्झटबाट मुक्त भएका छन् । यसले गर्दा मानिसको समय बचत र प्रविधिको प्रयोगले सहजतासमेत थपेको छ ।
नेपालमा विद्युतीय भुक्तानी सेवा स्थापित भइसकेको छ । डिजिटल कारोबार लोकप्रिय बन्दै गएको देखिन्छ । जति–जति प्रविधिको विकास उत्ति नै वित्तीय अपराधको जोखिम पनि बढेर गएको छ ।
पछिल्लो समय मानिसहरूले उपहार परेको, कोठा खोजिदिने, बैंकबाट बोलेको तथा अनलाइनस सपिङ् गर्नका भनेर ठगीको धन्दा बढिरहेका छन् । प्रविधिको विकास भए पनि वित्तीय साक्षरता नबढ्दा मानिसहरू आर्थिक कारोबारमा फस्न थालेका हुन् ।
सोसल मिडिया ह्याक तथा फेक आइडी, बैंक तथा वालेट अफिसबाट बोलेको, बैंक तथा वालेट ह्याक गरेर ओटीपी, लट्री तथा पार्सल पठाएको, वैदेशिक रोजगारको प्रलोभन, भिडियो सेयरिङ ब्लाक मेलिङ, अनलाइन जब, अनलाइन टिकेटिङ, मास्टर कार्ड गेमिङ, अनलाइन मार्केटिङ तथा अनलाइन सपिङ र अनलाइन ट्युसन जस्ता कार्यमा ठगी गर्ने बढेका छन् ।
यी सबै ठगीमा पैसाको कारोबार हुने गरेको छ । कुनै न कुनै हिसाबले मानिसहरू ठगिने गरेका छन् ।
ठूला–ठूला रकम बैंक खातामा र सानामा क्युआर
साइबर ब्यूरोका अनुसार विभिन्न शीर्षकमा ठगी भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार ६४२ वटा वित्तीय ठगीको उजुरी परेको थियो । ३ हजार बढी क्युआरबाट ठगीमा परेका उजुरीकर्ताहरू छन् । ब्यूरोले थोरै–थोरै रकम क्युआरबाट कारोबार हुने गरेको खुलेको बताउँछ ।
अधिकांश वित्तीय ठगीको उजुरीमा बैंक खातादेखि क्युआर पठाएर ठगी हुने गरेको ब्यूरोका प्रवक्ता दिलिप गिरी बताउँछन् । उनका अनुसार ठूला–ठूला रकम ठगिनेमा खातामा उजुरीकर्ताले बैंक खाता पठाउने गरेको खुलेको छ । साना कारोबारमा भने विभिन्न बैंक तथा अन्य क्युआर कम्पनीका क्युआर स्क्यान पठाएर ठगी गर्नेहरूको संख्या बढेको छ ।
प्रवक्ता गिरीका अनुसार वित्तीय साक्षरता हुँदाहुँदै पनि शिक्षित पुरुष तथा गृहिणीहरू डिजिटल कारोबारीको ठगीमा पर्ने गरेका छन् । नेपालीहरूमा अझै पनि वित्तीय साक्षरता भइनसकेको उनले जानकराी दिए ।
‘सित्तैमा कसैले पैसा र उपहार दिँदैनन् । तर मानिसहरू अनाहकमा सामाजिक सञ्जालको आकर्षक विज्ञापन देखेर ठगीमा पर्ने गरेको छन्,’ प्रवक्ता गिरीले भने ।
ठगीमा पर्ने महिला धेरै
फेसबुकमा अपरिचित कम्पनी र व्यक्तिले गरेका विज्ञापनबाट ठगिनेको संख्या बढिरहको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले जानकारी दिए । विज्ञापनको रोजगार, पार्सल आएको र सामान खरिद गरेर ठगीमा परेको भन्दै उजुरी दिनेको संख्या बढिरहेको उनको भनाइ छ ।
‘दैनिक ५० जनाको हाराहारीमा निवेदन लिएर आउने गरेका छन्,’ ती अनुसन्धान अधिकृतले विकासन्युजसँग भने, ‘अनलाइन स्क्याममा परेका भन्दै पीडितहरू आउँछन् । तर उनीहरूले क्युआरबाट पैसा पठाउने गरेका छन् ।’
उनका अनुसार ५ हजारदेखि २ लाखसम्म ठगीमा परेको भन्दै उजुरी लिएर आउने गरेका छन् ।
उनले अधिकांश पीडितहरू २० देखि ३५ वर्ष उमेर समूहका मानिसहरू रहेको जानकारी दिए । पुरूषभन्दा बढी महिलाहरू अनलाइनका विभिन्न प्लेटफर्मको स्क्याममा पीडित बनेका छन् ।
२ हजार उजुरीमध्ये १८ सय क्युआरबाट पैसा पठाएर ठगीमा पर्ने गरेको ती अधिकृतले बताए ।
ग्राहकले कारोबारको निरीक्षण गर्नुपर्ने
ग्राहकले बेला–बेलामा कस्तो कारोबार भइरहेको भनेर हेर्नुपर्ने फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवसकुमार सापकोटा बताउँछन् । गलत बाटोबाट वा सही तरिकाले पैसा आएको हो होइन, त्यसलाई पहिचान गरेमा पनि कानुनको फन्दामा नपरिने उनको बुझाइ छ ।
‘ह्याक गरेर पैसा लानेले पनि अन्तिममा एउटै खातामा लैजाने गरेका छन्,’ सापकोटाले भने, ‘बैंक तथा ग्राहकले सुरुमा थाहा पाउन सकेमा त्यस्तो ठगीबाट बच्न सकिन्छ ।’
सीईओ सापकोटाका अनुसार ह्वाटस्एप नम्बर अरूले थाहा पाएर ह्याक हुने सम्भावना बढी हुन्छ । ग्राहकले कसरी पैसा आएको र किन आएको छ भनेर पत्ता लगाउन सकेमा यस्तो अवस्था सिर्जना नहुने बताउँछन् ।
असामाजिक प्रवृत्ति भएकाले गर्छन् सोसल मिडियामा अपराध
डिजिटाइलेजसनको माध्यमबाट हुने अपराध फरक विशेषता भएका मानिसले मात्र गर्न सक्ने मानसिक अस्पताल पाटनका डा. अनन्त अधिकारीले जानकारी दिए । असामाजिक प्रवृत्ति भएका मानिसहरू अपराधिक गतिविधिमा सहभागी हुने गरेको उनको ठम्याइ छ ।
‘मानव मनोविज्ञानको एउटा मुख्य शत्रु भनेको अपराध गर्न तयार रहनु हो । प्रविधिको विकाससँगै मानिसहरूले यसलाई अपराधीकरणको साधन बनाएका छन्,’ डा. अधिकारी भन्छन्, ‘पुरानो समयमा भौतिक रुपमा लुट्ने, चोर्ने र हत्या गर्थे ।
अहिले भने समयको विकाससँगै प्रविधिको विकासले अपराध गर्ने माध्यम फेरियो । मानिसहरूले डिजिटिल माध्यमलाई अपराध गर्ने स्थान बनाएका छन् ।’
डा. अधिकारीले भौतिक संसारमा जस्तो घटना हुन्थ्यो भर्चुअल माध्यममा त्यस्तै घटना दोहोरिन थालेको बताए । खराब मनोवृत्ति भएकाले गलत कर्ममा लाग्ने गरेको उनको भनाइ छ ।
आपराधिक मनोवृत्ति भएका मानिसहरूले सोसल मिडियामा पूर्णरुपमा अध्ययन गरेर मात्र विज्ञापन गर्ने डा. अधिकारीको बुझाइ छ । उनीहरूले सामाजिक सञ्जाललाई आर्थिक उपार्जनको माध्यम ठानेर अपराध कर्म गर्ने गरेको उनले बताए ।