निजी शिक्षण संस्थामा ३ लाखभन्दा बढी रोजगारी, महिला कर्मचारीको संख्या पुरुषभन्दा धेरै

काठमाडौं । नेपालमा सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूले तीन लाखभन्दा बढीलाई रोजगारी दिएको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निजी तथा गैरसरकारी शिक्षण संस्थाहरूमा कुल ३ लाख ११ हजार ५१६ जना संलग्न रहेका छन् भने ३ लाख २१ जना तलब–ज्याला पाउने कर्मचारीका रूपमा कार्यरत छन् ।

तलब–ज्याला पाउने कर्मचारीमध्ये २ लाख २१ हजार ५०४ जना अर्थात् ७४ प्रतिशत शिक्षण क्षेत्रमा संलग्न छन् भने ७८ हजार ५१७ जना ९२६० प्रतिशत गैर–शिक्षण कर्मचारी रहेका छन् ।

शिक्षण कार्यमा संलग्न जनशक्तिमध्ये करिब ८१ प्रतिशत पूर्णकालीन र १९ प्रतिशत आंशिक रूपमा कार्यरत छन्। यस्तै, गैर–शिक्षणतर्फ ९६ प्रतिशत कर्मचारी पूर्णकालीन र ४ प्रतिशत मात्रै आंशिक रूपमा कार्यरत रहेको तथ्याङ्कले देखाएको छ ।

लैङ्गिक आधारमा हेर्दा शिक्षण तथा गैर–शिक्षण क्षेत्रका कर्मचारीमध्ये १ लाख ४५ हजार ६१० जना पुरुष र १ लाख ५४ हजार ४११ जना महिला रहेका छन् । यसले निजी शिक्षण संस्थामा महिला कर्मचारीको संख्या पुरुषभन्दा बढी रहेको देखाउँछ । 

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै १ लाख १७ हजार २२९ जना रोजगारीमा रहेका छन्, जुन कुल रोजगारीको करिब ३९ प्रतिशत हो । कोशी प्रदेशमा ४८ हजार ७१० जना, लुम्बिनी प्रदेशमा ४३ हजार १२० जना, मधेश प्रदेशमा ४० हजार ३३३ जना, गण्डकी प्रदेशमा २४ हजार ५५८ जना र सुदूरपश्चिम प्रदेशमा १८ हजार ७५८ जना कार्यरत रहेका छन् ।

सबैभन्दा कम रोजगारी कर्णाली प्रदेशमा रहेको पाइएको छ, जहाँ ७ हजार ३१२ जना मात्र कार्यरत छन् । लैङ्गिक संरचनाको दृष्टिले मधेश प्रदेश बाहेक सबै प्रदेशमा महिला कर्मचारीको संख्या पुरुषभन्दा बढी रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

Share News