काठमाडौं । निर्माणाधिन निजगढ विमानस्थलको मुआब्जा दर निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिले प्रति कठ्ठा २ लाख ४१ हजारदेखि ४ लाख ६० हजारसम्म हुने गरि मुआब्जा निर्धारण गरेको हो । मुआब्जा निर्धारण गरेपछि आयोजनाले निवेदन दिनका लागि ३५ दिने सूचना समेत प्रकाशित गरिसकेको छ ।
मुल सडकले छोएको जमिनको प्रति कठ्ठा मूल्य ४ लाख ६० हजार तोकिएको छ भने सडक नपुगेको जमिनको मूल्य २ लाख ४१ हजार ५ सय रुपैंयाँ तोकिएको छ । सहायक सडकले छोएको जमिनको मुल्य भने प्रति कठ्ठा ३ लाख ३९ हजार २ सय ५० रुपैंयाँ तोकिएको छ । निजगढ विमानस्थल आयोजनाका प्रमुख हरि अधिकारीका अनुसार ११० बिगाह जमिनको मुआब्जाका लागि ५० करोड रुपैंयाँ लाग्नेछ ।
जमिन बाहेक नागरिकका घर तथा अन्य भौतिक संरचनाको पनि मुआब्जा वितरण गरिनेछ । त्यसको दर रेट पनि तय भैसकेको छ ।
बाँसको टाटीदेखि पक्की घर तथा परालको बार लगाइएका घरहरुको प्रति वर्ग फिटका दरले मुआब्जा दर निर्धारण गरिएको छ । नरिवल, तेजपात, पिपल, फुलका बिरुवाको समेत मुआब्जा दर निर्धारण गरिएको छ । जिल्ला प्रशासनले प्रति वर्ग फिट तीन सय रुपैंयाँदेखि एक लाख रुपैंयाँसम्म मुआब्जा दिने प्रस्ताव गरेको हो ।
आयोजना प्रभावित क्षेत्रमा रहेका नागरिकले अबको २० दिनभित्र आयोजनाको कार्यालय सिमरा विमानस्थलमा पुगेर आफ्नो कागजात बुझाउनु पर्ने प्रमुख अधिकारीले बताए । मन्त्रि परिषदले ६ लाख ८४ हजारको संख्यामा रहेका रुख काट्ने र ८० वर्ग किलोमिटर क्षेत्रको वरिपरि सडक बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ ।
वातावरिणय प्रभाव मुल्यांकन(इआइए)को ६० प्रतिशत भन्दा बढि काम सम्पन्न भैसकेको अधिकारीले जानकारी दिए ।