काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठनको खाका तयार पार्न गठन गरेको उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले अझै प्रतिवेदन टुंग्याउन नसक्दा पार्टीको पूर्वनिर्धारित केन्द्रीय कमिटी बैठकसमेत अनिश्चित भएको छ।
यसले आम निर्वाचनपछिको संगठन पुनर्संरचनालाई लिएर नेतृत्वले अपेक्षाभन्दा बढी समय खर्चिरहेको देखाएको छ ।
एमाले सचिवालयले यसअघि असार २० गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको थियो । बैठकको मुख्य एजेन्डा पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने थियो ।
तर प्रतिवेदन तयार नभएपछि बैठक नै अनिश्चित भएको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्य बताउँछन् ।
पार्टी नेताहरूका अनुसार कार्यदलले प्रतिवेदनको मस्यौदा तयार गर्ने तयारी गरेपनि संगठनात्मक संरचनाका केही महत्त्वपूर्ण विषयमा अझै साझा निष्कर्ष बन्न सकेको छैन ।
प्रदेशदेखि वडा तहसम्मको संगठनात्मक ढाँचा, जनसंगठनको पुनर्संरचना, विभागहरूको भूमिका, सदस्यता व्यवस्थापन र जिम्मेवारी बाँडफाँटजस्ता विषयमा थप छलफल भइरहेकोले प्रतिवेदन लेखन लम्बिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
तर नेताहरूका अनुसार पार्टी नेतृत्व परिवर्तनका पक्षमा आम कार्यकर्ता देखिएका कारण प्रतिवेदन लेख्न क्रमशः ढिलो हुँदै गएको हो ।
एमालेभित्र यसलाई सामान्य प्रशासनिक प्रक्रियाभन्दा पनि पार्टीको आगामीे दीर्घकालीन संगठनात्मक रणनीतिको रूपमा हेरिएकोले पनि प्रतिवेदन र आगामी केन्द्रीय कमिटी बैठकलाई धेरैले चासोका साथ हेरेका छन् ।
‘त्यसैले नेतृत्व कुनै पनि निर्णय हतारमा गर्न चाहँदैन,’ कार्यदलका एक सदस्यले भने ।
पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको चाहना प्रतिवेदन छिटो अनुमोदन गर्नु नभई कार्यान्वयन गर्न सकिने र पार्टीभित्र व्यापक स्वीकार्यता पाउने दस्तावेज तयार गर्नु रहेको छ ।
उनका अनुसार संगठन पुनर्संरचनाले प्रत्येक तहका नेताको जिम्मेवारी र राजनीतिक भूमिकालाई प्रत्यक्ष असर पार्छ । त्यसैले नेतृत्वले सबै पक्षको धारणा सुनेर मात्रै अन्तिम निर्णय गर्न खोजेको छ ।
पुनर्गठन कार्यदललाई पार्टीको संगठनलाई नयाँ ढंगले व्यवस्थित गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलको प्रतिवेदनले पार्टीको संगठनात्मक संरचनादेखि जनसंगठनको भूमिकासम्म पुन: परिभाषित गर्ने अपेक्षा गरिएको एक नेताले बताए ।
कार्यदलका संयोजक थापामाथि पनि सबै पक्षलाई स्वीकार्य हुने प्रस्ताव तयार पार्ने दबाब छ । ‘प्रतिवेदनले पार्टीको पुनर्गठन प्रक्रियालाई अन्तिम रूप दिने भएकाले पनि नेतृत्व सजग देखिएको हो,’ एक पदाधिकारीले भने ।
पार्टी नेताहरूका अनुसार अहिलेको सबैभन्दा ठूलो चुनौती संगठनलाई आगामी स्थानीय, प्रदेश निर्वाचनमा पार्टीलाई कसरी प्रभावकारी बनाउने भन्ने हो । यही कारण कार्यदलले विभिन्न तहका नेतासँग थप परामर्श गर्दै प्रतिवेदनलाई अन्तिम रूप दिन खोजिरहेको छ ।
एक केन्द्रीय कमिटी सदस्यका अनुसार केन्द्रीय कमिटी बैठक पर सर्नु कुनै असामान्य घटना होइन ।
‘यसले एमाले नेतृत्व संगठन पुनर्संरचनामा पर्याप्त सहमति कायम गरेर मात्रै अघि बढ्न चाहेको संकेत भने स्पष्ट रूपमा दिएको छ,’ ती सदस्यले भने ।
तर पार्टी प्रचार विभाग प्रमुख आचार्य भने कार्यदलले प्रतिवेदन सचिवालयमा बुझाएपछि सचिवालयले आवश्यक अध्ययनपछि केन्द्रीय कमिटी बैठक बोलाउने बताउँछन् ।
ओली निकट एक नेताका अनुसार पार्टी पुनर्गठनपछि नयाँ असन्तुष्टि सिर्जना हुन नदिन र संगठनलाई एकीकृत रूपमा परिचालन गर्न अध्यक्ष ओलीले सावधानीपूर्वक कदम चालिरहेकाले प्रतिवेदन लेखन देखि अन्य बैठकको समय अलि पछि सरेको हो ।
प्रतिवेदन तयार भएपछि सचिवालय र केन्द्रीय कमिटीमा त्यसबारे विस्तृत छलफल हुनेछ । आवश्यक संशोधनपछि मात्रै केन्द्रीय कमिटीबाट पारित गराएर देशभर संगठन पुनर्संरचना प्रक्रिया अघि बढाउने एमालेको तयारी रहेको छ ।