१५ सय रुपैयाँमै १० लाखसम्मको सुरक्षा

वन्यजन्तु जोखिम बीमालेख बिक्री गर्ने बाटो खुल्याे

काठमाडौं । अब निर्जीवन बीमा कम्पनीहरूले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख जारी गर्न पाउने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यससम्बन्धी बीमालेख जारी गरेसँगै निर्जीवन बीमा कम्पनीहरूलाई यस्तो बीमालेख बिक्री गर्ने बाटो खुलेको हो ।

यो बीमालेख कार्यान्वयनमा आएपछि वन्यजन्तुको आक्रमणको उच्च जोखिममा रहेका परिवारले आर्थिक सुरक्षा तथा राहत पाउने अपेक्षा गरिएको छ । नेपालमा वन्यजन्तुको आक्रमणबाट प्रत्येक वर्ष सयौं मानिसको ज्यान जाने तथा धेरै घाइते हुने घटनाहरू भइरहेका छन् । 

यस्तो अवस्थामा यो बीमालेखले पीडित तथा प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।  प्राधिकरणका अनुसार बीमितले बीमा शुल्क भुक्तानी गरेपछि र प्रस्ताव फारम स्वीकृत भएपछि यो बीमालेख प्रारम्भ हुने छ । 

प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरू लघु बीमा कम्पनीसमेतले जारी गर्न पाउनेगरी यो बीमालेख तयार गरेको छ । बीमा कम्पनीले जारी गर्ने यो बीमालेख बीमक तथा बीमितबीच द्विपक्षीय करार हुनेछ । 

बीमकले बीमालेख मुद्रित वा विद्युतीय रुपमा जारी गर्न पाउनेछन् । बीमालेख जारी भएको मिति र समयबाट जोखिमको रक्षावरण प्रारम्भ भएको मानिनेछ । यो बीमालेख एकीकृत बीमालेख हुनेछ र बीमालेखको अवधि एक वर्षको हुनेछ ।

रक्षावरण सम्बन्धी व्यवस्था 

यो बीमालेखले तोकिएका  १८ प्रकारका वन्यजन्तुका कारणबाट भएको क्षति रक्षावरण गर्नेछ । यो बीमालेखअनुसार हाती, गैंडा, बाघ, भालु, चितुवा प्रजाति, स्याल, मृग प्रजाति, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, अजिंगर, बाँदरलगायत वन्यजन्तुबाट बीमितलाई क्षति पुर्याएको अवस्थामा यो बीमालेखले जोखिम कभर गर्नेछ । 

यो बीमालेखअनुसार बीमितले १ हजार ५ सय रुपैयाँ मात्रै बीमा शुल्क तिरे पुग्छ । यति तिरेपछि बीमितले अधिकतम १० लाख रुपैयाँसम्मको सुरक्षा पाउनेछन् । यो बीमालेख अनुसार वन्यजन्तुको आक्रमणबाट बीमितको मृत्यु भएमा वा स्थायी रुपमा पूर्ण अशक्त भएमा १० लाख रुपैयाँसम्ममको रक्षावरण हुने व्यवस्था छ । अस्थायी रूपमा पूर्ण अशक्तता भएमा ५ लाख रुपैयाँसम्म बीमितले पाउनेछन् । 

औषधी उपचार 

बीमालेखमा उल्लेख गरेअनुसारको वन्यजन्तुको आक्रमणबाट बीमित गम्भिर घाइते भएको अवस्थामा १ लाख रुपैयाँसम्म र सामान्य घाइतेको हकमा २० हजार रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइने छ । 

त्यसैगरी, वन्यजन्तुले घर वा अन्य भौतिक संरचनामा क्षति पुर्याएमा ५ लाख रुपैयाँ, कृषि प्रयोजनका लागि पालिएका पशुधनको क्षतिमा १ लाख रुपैयाँ र कृषि बालीको क्षतिमा ५० हजार रुपैयाँसम्मको दाबी भुक्तानी पाउने व्यवस्था यो बीमालेखले गरेको छ । 

दुर्घटना खर्च सुविधा बीमित परिवारका अधिकतम दुईजना सदस्यले मात्रै पाउनेछन् । 

वन्यजन्तुको आक्रमणबाट क्षति भएमा बीमितले ४८ घण्टाभित्र बीमकलाई जानकारी गराउनुपर्ने हुन्छ । 

आवश्यक कागजात 

बीमा दाबीको लागि दाबी फारम, अस्पतालको बिल, मृत्यु भएको हकमा मृत्युदर्ताको प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र र वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको भनी विवरण खुल्ने प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । यी कागजात प्राप्त भएको ७ दिनभित्र बीमकले दाबी फर्स्याैट गरिसक्नुपर्नेछ  । 

दुर्घटनाको कारण बीमित व्यक्ति वा परिवारका सदस्यको मृत्यु भएको अवस्थामा बीमाङ्क रकमको सीमा भित्र रहने गरी बीमकले घटना भएको सात दिनभित्र शव व्यवस्थापन तथा काजक्रिया खर्चवापत पचास हजार रुपैयाँ भुक्तानी दिनु पर्नेछ ।

घर तथा भौतिक संरचनाको क्षति भएको हकमा बीमितले दाबी भुक्तानीको लागि  दाबी फारम, सर्जमिन मुचुल्का, दुर्घटनासम्बन्धी प्रहरी प्रतिवेदन, सम्पत्तिको क्षति भएको स्पष्ट देखिने फोटो, स्थानीय तहको सम्बन्धित प्राविधिकको मूल्यांकनसहितको सिफारिस पत्र बुझाउनुपर्ने हुन्छ ।

बीमालेखका थप सर्तहरू

केही विशेष अवस्थाहरूमा भने बीमा दाबी पाउने छैनन् । यो बीमालेखअनुसार प्रचलित कानुनले निषेध गरेका क्षेत्रमा भएको गतिविधि, निषेधित बाली, वा तीन महिनाभन्दा कम उमेरका पशुधनको क्षतिमा यो बीमाले रक्षावरण गर्दैन । 

यस बीमालेख बमोजिम वन्यजन्तुको आक्रमणबाट भएको क्षतिबाहेक अन्य क्षति रक्षावरण गरिने छैन । बीमालेखले रक्षावरण गरिएको जोखिममध्ये बीमा अवधिभित्र सबै जोखिम एकै साथ नभएको अवस्थामा समेत बीमालेखको अवधिभर यो बीमालेख जारी रहनेछ । कृषि प्रयोजनको लागि पालन गरिएका पशुधनको मात्र यस बीमालेखले रक्षावरण गरिनेछ ।

त्यसैगरी, घर तथा भौतिक संरचनामा थपघट वा स्वामित्व परिवर्तन भएमा बीमितले बीमकलाई सोको जानकारी दिनु पर्नेछ  । बीमकले उक्त बीमालेख नयाँ धनीको नाममा नि:शुल्क नामसारी गरिदिनु पर्नेछ । पशुधन थपघट वा स्वामित्व परिवर्तन भएमा सोको विवरण बीमकलाई तत्काल जानकारी गराउनु पर्नेछ ।

बीमित स्थायी/अस्थायी पूर्ण अशक्त भएको कुरा मान्यता प्राप्त चिकित्सकबाट प्रमाणित हुनु पर्नेछ । यस बीमालेखले बीमालेखको अवधिभित्र बीमितले लगाएको कृषिबालीहरूको बीमाङ्क रकमको सीमासम्म रक्षावरण गर्नेछ ।

बीमितले क्षतिको विवरण सुरक्षित साथ राख्नुपर्छ । साथै सर्जमिन मुचुल्का तयार भएपश्चात मात्र क्षतिको विवरण क्षति भएको स्थानबाट हटाउन सक्नेछ । बीमितबाट बीमालेख हराएको अवस्थामा समेत बीमकले दाबी भुक्तानीमा सहजीकरण गर्नु पर्दछ ।

बीमकले मानव मृत्यु दाबी भुक्तानी बाहेक अन्य दाबीमा पाँच प्रतिशत रकम कट्टा गरी दाबी भुक्तानी गर्नु पर्नेछ । वन्यजन्तुको आक्रमणबाट बीमितले बसोवास गर्ने प्रयोजनका लागि तयार गरिएका पक्की, कच्ची. फुस, टिन वा माटोको घर तथा सोको परिसरभित्र रहेका गोठ, भान्साघर, शौचालय, पर्खाल जस्ता संरचनाहरूमा क्षति भएमा अधिकतम बीमाङ्ङ्कसम्म रक्षावरण हुनेछ ।

Share News