केबीएनआर इस्वा पावरले १ अर्ब १९ करोडको आईपीओ जारी गर्ने

काठमाडौं । केबीएनआर इस्वा पावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसको कुल आकार १ अर्ब १९ करोड रुपैयाँ बराबर रहेको छ। 

आईपीओ जारी गर्नका लागि कम्पनीले प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

काठमाडौंको कमलपोखरीस्थित ज्योति क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास ढकाल र केबीएनआर इस्वा पावरका सीईओ अनन्त कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । 

नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त क्यापिटलले धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा सेयर रजिष्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको छ ।

Share News