४८ करोड कर्जा दुरुपयोग गरेको आरोपमा एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण र जग्गा खरिदका लागि लिएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् । 

नेपाल राष्ट्र बैंकको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उच्च अदालत पाटनबाट अनुमति लिई एशियन भिलेज रिसोर्ट प्रा.लि.का अध्यक्षलाई काठमाडौंको पिङ्गलास्थानबाट पक्राउ गरेको हो । 

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको विशेष स्थलगत निरीक्षणका क्रममा उक्त रिसोर्टले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी, पछि गर्ने कबुलियतनामा गराएर कर्जा लिएको खुलेको थियो । 

रिसोर्ट निर्माणका लागि लिइएको उक्त मोटो रकम अध्यक्षले आफ्नो पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कर्जाको रकम तोकिएको शीर्षकमा खर्च नगरी अन्यत्रै प्रयोग गरेर ’बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ को दफा ८ बमोजिम कर्जा दुरुपयोगको कसूर गरेको देखिएपछि राष्ट्र बैंकले सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । पक्राउ परेका ती व्यक्तिमाथि बैंकिङ कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News