काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय रूपमा सबल सूचीकृत कम्पनीहरूको सेयर धितोमा थप मार्जिन लेण्डिङ सुविधा दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको निर्देशनअनुसार धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको वित्तीय तथा संस्थागत सबलताको आधारमा सेयर धितो कर्जाको कर्जा मूल्य (लोन टू भ्यालू) अनुपातमा अधिकतम १० प्रतिशत विन्दुसम्म थप गर्न सकिने व्यवस्था गरेको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले आफ्नै ‘प्रडक्ट पेपर’ तयार गरी सूचीकृत कम्पनीहरूको सबलता मूल्याङ्कन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ । मूल्याङ्कनका आधारमा उच्च अंक प्राप्त गर्ने कम्पनीहरूको सेयरमा निर्धारित सीमा भन्दा बढीमा १० प्रतिशत विन्दुसम्म अतिरिक्त कर्जा सुविधा दिन सकिनेछ ।
राष्ट्र बैंकका अनुसार कम्पनीको सबलता मूल्याङ्कन गर्दा कम्तीमा चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, निरन्तर नाफा आर्जन तथा लाभांश वितरणको अवस्था र अवधि, क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना तथा नियमित वार्षिक साधारणसभा सम्पन्न भएको वा नभएको अवस्थालाई आधार बनाउनुपर्नेछ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले तयार गरेको उक्त प्रडक्ट पेपर आफ्नो आधिकारिक वेबसाइटमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले एकपटक सेयर धितोमा कर्जा प्रवाह गरिसकेपछि धितोमा रहेको सेयरको पुनर्मूल्याङ्कनका आधारमा थप कर्जा सीमा निर्धारण गर्न वा थप कर्जा प्रवाह गर्न भने नपाइने स्पष्ट व्यवस्था गरेको छ ।