काठमाडौं । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/०८३ मा तोकिएको लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ । अदालतले वार्षिक लक्ष्यको तुलनामा १०१.६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।
अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका २ हजार २ सय ६७ र नयाँ दर्ता भएका ४ हजार २ सय ४९ गरी कुल ६ हजार ५ सय १६ मुद्दा अदालतको जिम्मेवारीमा थिए । तीमध्ये ४ हजार ६ सय १९ मुद्दा फर्स्यौट गरिएको छ, जुन कुल मुद्दाको ७०.८८ प्रतिशत हो ।
अदालतले आर्थिक वर्षभर ४ हजार ५ सय ४६ मुद्दा फैसला गर्ने लक्ष्य राखेको थियो । तर प्रभावकारी व्यवस्थापन, नियमित सुनुवाइ र पुराना मुद्दालाई प्राथमिकतामा राखिएको रणनीतिका कारण लक्ष्यभन्दा ७३ मुद्दा बढी फर्स्यौट गर्न सफल भएको हो ।
अदालतले विशेष अभियानकै रूपमा पुराना मुद्दा टुंग्याएकाले १८ महिना तथा दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दा शून्यमा झारेको जनाएको छ । हाल अदालतमा १ हजार ८ सय ९७ मुद्दा मात्र विचाराधीन छन् ।
उच्च अदालत जनकपुरले आगामी आर्थिक वर्षमा ६ हजार ८ सय २६ नयाँ मुद्दा दर्ता हुनसक्ने अनुमान गर्दै न्याय सम्पादनलाई अझ छिटो, प्रभावकारी र सेवामुखी बनाउने प्रतिबद्धता पनि जनाएको छ ।