काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारमा फैलिएका अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ । शुक्रबार नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा जारी सन्देशमा सचिवालयले सरकार गठनयता सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्तामा असन्तुष्टि देखिएको स्वीकार गर्दै बजारसम्बन्धी गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको जनाएको छ ।
सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै अर्थतन्त्रका विभिन्न सूचकमा सुधार देखिएको दाबी गरिएको छ । प्रशस्त तरलता, घट्दो ब्याजदर, कर नीतिमार्फत लगानी तथा खर्चलाई प्रोत्साहन गर्ने व्यवस्था र राजस्व विवादमा परेकाहरूलाई छुट सुविधा उपलब्ध गराएर आर्थिक गतिविधि बढाउने प्रयास गरिएको सचिवालयको भनाइ छ ।
‘अर्थतन्त्रका सूचकहरू केही राम्रा र केही तीव्र सुधारोन्मुख छन् । प्रशस्त तरलता छ, ब्याजदर घटेको छ । सरकारले नियमित ठूलो आम्दानी हुनेलाई आयकर छुट दिएर खर्च र लगानी गर्न प्रोत्साहन हुने कर नीति लिएको छ । राजस्व विवादमा परेका हजारौँलाई एकै पटक ऐतिहासिक छुट सुविधामार्फत पुनः सुरुवातको मौका दिइएको छ,’ सचिवालयले भनेको छ ।
सन्देशमा स्थिर सरकार रहेको, अर्थमन्त्री विज्ञ रहेको तथा नियामक निकायहरूमा विज्ञ, पारदर्शी र इमानदार नेतृत्व चयन भएको र केही निकायमा त्यस्तो प्रक्रिया जारी रहेको उल्लेख छ । नियामक निकायमार्फत सेयर बजार सुधारका लागि योजनाबद्ध रूपमा काम अघि बढेको पनि सचिवालयले जनाएको छ ।
नियामक निकायलाई प्रभावमा पारेर भारतको सन् १९९१ को चर्चित हर्षद मेहता प्रकरणजस्तै अवस्था सिर्जना गर्न खोज्ने व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको दाबी पनि गरेको छ । यद्यपि, बजारमा सरकारको कामबारे गलत सन्देश फैलाइएको र ‘सबै कुरा ठीक चलिरहेको छैन’ भन्ने भाष्य निर्माण गरेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाइएको छ ।
सरकार कम बोल्ने तर धेरै काम गर्ने भएकाले त्यसको फाइदा उठाउँदै केही समूहले परिस्थितिजन्य लाभ लिन भ्रामक प्रचार गरिरहेको सचिवालयको भनाइ छ । सरकारलाई थाहा नभएका विषयका नाममा त्रास बेच्ने, मानिसलाई आतङ्कित बनाउने र अमुक व्यक्ति पक्राउ पर्दैछ वा अनुसन्धानमा छ भन्ने जस्ता प्रायोजित हल्ला फैलाइएको सूचना प्राप्त भएको सचिवालयले जनाएको छ ।
यस्ता गतिविधिलाई ‘आफ्नो टाउको फुटेपछि मितको टाउको बेलै सरी’ भन्ने उखानसँग तुलना गर्दै सचिवालयले लगानीकर्तालाई सचेत रहन आग्रह गरेको छ। सरकारले त्यसरी मनोवैज्ञानिक त्रास सिर्जना गरेर काम नगरेको र नगर्ने स्पष्ट पारिएको छ ।
सचिवालयले सेयर बजारसम्बन्धी आधिकारिक सरकारी सूचना क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह तथा ‘टाई-सुट लगाएका झिल्के सङ्घका नेता’ वा ‘इमानदारी बेचेका मिडिया’बाट नआउने उल्लेख गर्दै त्यस्ता माध्यमले आफ्नै स्वार्थका लागि डर देखाउन सक्ने दाबी गरेको छ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, अफवाहको पछि नलाग्न तथा आवश्यक जानकारी आधिकारिक सरकारी निकायबाट लिन लगानीकर्तालाई आग्रह गर्दै सचिवालयले नआत्तिन पनि अनुरोध गरेको छ ।