काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता बढी सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको घटेको तथा २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत अग्रस्थानमा छ । कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख रूपैयाँ, रिलाइन्स स्पिनिङको १५ करोड ६० लाख रूपैयाँ, रिडी पावरको १५ करोड ३६ लाख रुपैयाँ र न्यादी ग्रुपको १४ करोड ८५ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।
यस्तै, आज श्रीनगर एग्रीटेकको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।
उपसमूहतर्फ म्युचुअल फन्डबाहेक सबै सूचक हरियालीमा रहे । बैंकिङ समूह २.४१ प्रतिशत, डेभलपमेन्ट बैंक समूह २.१८ प्रतिशत, फाइनान्स समूह ३.३९ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६६ प्रतिशत, हाइड्रोपावर समूह ४.५८ प्रतिशत, लगानी समूह ४.१२ प्रतिशत, जीवन बीमा समूह २.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.६० प्रतिशत, माइक्रोफाइनान्स समूह १.८० प्रतिशत, निर्जीवन बीमा समूह २.११ प्रतिशत, अन्य समूह २.७७ प्रतिशत तथा ट्रेडिङ समूह ०.८३ प्रतिशतले बढेका छन् । म्युचुअल फन्ड उपसूचक भने ०.२९ प्रतिशतले घटेको छ ।
बजारमा आएको यो उत्साहलाई लगानीकर्ता तथा ब्रोकरहरूले सकारात्मक रूपमा लिएका छन् । एक ब्रोकर व्यवसायीका अनुसार बजार हरियाली भएसँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । सबल कम्पनीको सेयरमा ८० प्रतिशतसम्म मार्जिन लेन्डिङ उपलब्ध हुने व्यवस्थाले लगानीकर्तामा उत्साह थपिएको उनको भनाइ छ ।
बजारले लामो समयदेखि यस्तै सकारात्मक सेन्टिमेन्टको अपेक्षा गरिरहेको र बैंकको ब्याजदर तथा अन्य नीतिगत व्यवस्था पनि अहिले अनुकूल रहेको उनले बताए ।
उनका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी पुँजी बजारसँग सम्बन्धित नीतिगत व्यवस्था सहजीकरण गर्न दिएको निर्देशनले पनि लगानीकर्तामा सकारात्मक प्रभाव परेको छ । त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयबाट सेयर बजारसम्बन्धी सकारात्मक सन्देश आउनुले समेत बजारप्रति आशा बढाएको उनले बताए ।
पछिल्ला केही दिन डिबेन्चरको कारोबार बढे पनि शुक्रबार कम्पनीहरूको सेयर कारोबार उल्लेख्य रूपमा बढेकाले आजको वृद्धिलाई सकारात्मक रूपमा लिनुपर्ने उनको धारणा छ ।
एक लगानीकर्ताका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारप्रति नयाँ अपेक्षा र उत्साह बढेको छ । उनका अनुसार बजारसँग सम्बन्धित आधारभूत विषयमा खासै नकारात्मक परिवर्तन नभएकाले नयाँ वर्षसँगै सकारात्मक गतिविधि बढ्ने आशा लगानीकर्तामा देखिएको हो ।
उनले पछिल्ला दिनमा रहेका विभिन्न शंका-आशंका क्रमशः हट्दै गएको बताए । उनका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरूको साधारण सभा तथा लाभांश घोषणाको सिजन सुरु हुने अपेक्षाले पनि लगानीकर्ताको खरिद चाप बढेको हुन सक्छ ।