काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्ना डिम्याट खातावालाहरूका लागि अनलाइनमार्फत नै राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक (अपडेट) गर्न सकिने नयाँ व्यवस्था मिलाएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको निर्देशनबमोजिम नयाँ डिम्याट खाता खोल्दा वा पुराना खाताको केवाइसी विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि क्यापिटलले यो सहज डिजिटल सुविधा ल्याएको हो ।
‘लाइनमा होइन, अनलाइनमा’ भन्ने मूल मन्त्रसहित आफ्ना सेवाहरूलाई डिजिटल बनाउँदै आएको क्यापिटलको यो व्यवस्थाबाट एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका शाखाहरूबाट डिम्याट खाता खोलेका ग्राहकहरू लाभान्वित हुनेछन् ।
डिम्याट खातामा अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नका लागि ग्राहकहरूले क्यापिटलको वेबसाइटमा रहेको निश्चित लिङ्क https://dematonline.nicasiacapital.com/ मा गएर आफ्नो डिम्याट खाता नम्बर र जन्ममिति प्रविष्ट गर्नुपर्नेछ ।
त्यसपछि खातामा दर्ता भएको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने ओटिपी प्रमाणीकरण गरी राष्ट्रिय परिचयपत्र नम्बर र परिचयपत्रको अगाडिको भागको प्रष्ट फोटो वा एनआईडी कन्फर्मेसन पत्र अपलोड गर्नुपर्ने क्यापिटलले जनाएको छ ।
यसरी विवरण पठाएपछि उक्त नम्बर डिम्याट खातामा अद्यावधिक भए/नभएको स्थिति (स्टेटस) समेत वेबसाइटको ‘चेक रिजल्ट’ मा क्लिक गरी अनलाइनबाटै ट्र्याक गर्न सकिनेछ ।
यसका साथै, डिम्याट खातामा एनआईसी एशिया बैंकको खाता उल्लेख भएका ग्राहकहरूको बैंक खातामै राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक रहेको खण्डमा सोही आधारमा डिम्याट खातामा पनि सोझै एनआईडी अद्यावधिक हुने व्यवस्था मिलाइने क्यापिटलले विज्ञप्तिमा उल्लेख गरेको छ ।