काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका निर्णयहरू अकाट्य नहुने स्पष्ट पार्दै जनतालाई ठूलो क्षति पुग्ने देखिएमा त्यस्ता निर्णयहरू रातारात परिवर्तन गर्न सकिने बताएका छन् ।
शनिबार रौतहटका पार्टी नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटमा सभापति लामिछानेले सरकारको नियत सफा भए पनि कहिलेकाहीँ व्यवहारमा उतार्दा समस्या आउन सक्ने र त्यस्ता कमजोरीलाई सच्याउन सकिने धारणा राखेका हुन् ।
रौतहटका अगुवाहरूले सरकारले सीमा क्षेत्रमा तोकेको सय रुपैयाँको सीमा र अन्य कदमका कारण स्थानीयको जनजीवन कष्टकर बनेको गुनासो गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कार्यकर्ताको गुनासो सुनेपछि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को बचाउ समेत गरे । सरकारको नियत खराब नभएको जिकिर गर्दै उनले भने, ’सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ । तर नियत खराब भयो भने करेक्सन गर्न गाह्रो हुन्छ । जसका लागि लाभ होस् भनेर निर्णय गरिएको हो, उसैलाई हानी भएछ भने निर्णय परिवर्तन हुन्छ, त्यसमा चिन्ता गर्नु पर्दैन ।’
नेतृत्वले एउटा उद्देश्यका साथ निर्णय गरे पनि कार्यान्वयनका क्रममा चुनौती आउँदा ’सबै खत्तम भयो’ भन्ने भाष्य सिर्जना हुने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
किसान, मजदुर र गरिब विपन्न वर्गलाई अप्ठ्यारो पार्ने खालका कुनै पनि नीतिहरू कालान्तरमा परिवर्तन हुने भन्दै उनले केही समय धैर्य गर्न सर्वसाधारणलाई आग्रह गरे ।