तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार (आज) छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान साढे ११ बजे छलफल हुन लागेको हो ।

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुने जनाइएको छ ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै आइरहेका छन् ।

संवादको क्रममा उनले उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिँदै आएका छन् ।

Share News