काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी, उद्धार तथा राहत संयन्त्रको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा आज जरुरी सार्वजनिक महत्त्वको विषयअन्तर्गत ध्यानाकर्षण प्रस्ताव दर्ता गरिने भएको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको प्रस्तावमा नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थन रहने गरी उक्त प्रस्ताव आज बिहान ११ बजे राष्ट्रियसभामा दर्ता गरिने जनाइएको छ ।
प्रस्तावमार्फत गृहमन्त्री सुदन गुरुङको ध्यानाकर्षण गराउँदै मनसुनका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का जोखिम न्यूनीकरणका लागि सरकारले गरेको पूर्वतयारी, उद्धार तथा राहत सामग्रीको व्यवस्थापन, प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति र स्रोत–साधनको परिचालन तथा विपद् व्यवस्थापन संयन्त्रको प्रभावकारिताबारे स्पष्ट जानकारी माग गरिनेछ ।
विपक्षी दलहरूले मनसुन सक्रिय भएसँगै देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानका घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारले समयमै प्रभावकारी तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
ध्यानाकर्षण प्रस्तावमाथि राष्ट्रियसभामा छलफल भएपछि गृहमन्त्री गुरुङले सरकारको तयारी, विपद् पूर्वतयारीका लागि अपनाइएका उपाय तथा आगामी कार्ययोजनाबारे सदनलाई जानकारी गराउने अपेक्षा गरिएको छ । प्रस्तावले मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा कार्यान्वयन पक्षमा सरकारलाई थप जिम्मेवार बनाउनुपर्ने विषयलाई पनि जोड दिने जनाइएको छ ।