बीपी स्मृति दिवसमा कांग्रेसको ग्रीन रन, प्रथम भए मुकेश

काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बिहीबार सम्पन्न ग्रीन रन प्रतियोगितामा धावक मुकेशबहादुर पाल प्रथम भएका छन् ।

पाँच किलोमिटर लामो ग्रीन रन जलवायु परिवर्तनसम्बन्धी सचेतना अभियानका लागि सञ्चालन गरिएको पार्टीले जनाएको छ । सोही अवसरमा पार्टीले विपद् तथा सङ्कटमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यसहित मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा पनि गरेको छ ।

ललितपुरस्थित युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा एक हजार चार सय जनाले नाम दर्ता गराएकोमा १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पाल प्रथम भए । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको कांग्रेसले जनाएको छ ।

यस्तै नरेन्द्रसिंह रावल दोस्रो हुँदै २५ हजार रुपैयाँ, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार रुपैयाँ, गणेश सिंह चौथो हुँदै १२ हजार रुपैयाँ, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार रुपैयाँ र नागेश्वर अहिर छैटौँ हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कांग्रेसले जनाएको छ ।

पार्टीले जारी गरेको प्रेस नोट अनुसार महिला प्रतिस्पर्धातर्फ भने धावकहरूले निर्धारित रुट पालना नगरेकाले उक्त प्रतिस्पर्धाको नतिजा रद्द गरिएको छ । प्रेस नोट अनुसार महिला विधाको दौड पुनः आयोजना गरिनेछ । प्रतियोगितामा सभापति थापा स्वयं पनि प्रतिस्पर्धीका रूपमा सहभागी भएका थिए भने सयौँले अप्रतियोगीका रूपमा दौड पूरा गरेका थिए ।

ग्रीन रन सम्पन्न भएपछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकताका रूपमा सम्बोधन गर्दै प्रभावकारी नीति, जनचेतना अभिवृद्धि र पूर्वतयारीलाई सुदृढ बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस जलवायु परिवर्तनबारे जनचेतना फैलाउने अभियानमा मात्र सीमित नरही यसविरुद्ध ठोस राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारीमा रहेको बताए । उनले बीपी कोइरालाले दशकौँअघि नै वन, जमिन तथा प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो विकास र समावेशी समाज निर्माणको अवधारणा अघि सारेको स्मरण गर्दै कांग्रेसले ती सिद्धान्तलाई समकालीन नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको बताए ।

Share News