‘कुलडाउन’ हुन समय नलिई अधुरा काम पूरा गर्न कार्यक्षेत्रमा खटिएँ : पहाडी

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले आफू ‘कुलडाउन’ हुन समय नलिई कम्पनीका अधुरा काम पूरा गर्न र कम्पनीलाई थप उचाइमा पुर्याउन कार्यक्षेत्रमा खटिएको बताएकी छन् ।

नेपाल टेलिकम वर्कर्स युनियनको ३५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्पनीको हितमा आफू पूर्ण प्रतिबद्ध भएर काम गरिरहेको बताएकी हुन् ।

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेपछि पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।

उनी २०८१ भदौ २१ मा नेपाल टेलिकमको पहाडी प्रबन्ध निर्देशकमा नियुक्त भएकी  थिइन् । तर अदालतबाट सफाइ पाएपछि पुनः कार्यालय फर्किएकी हुन् ।

आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।

पहाडीसहित टेलिकमका १४ जना कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । हाल ती सबैजनाले सफाइ पाएका छन् । 

उनले ‘न्याय मरेको छैन, न्याय जीवितै छ’ भन्दै कर्मचारीहरूलाई नीति तथा नियमको पालना गर्दै नडराई काम गर्न आग्रह गरिन् । 

कम्पनी र कर्मचारीको हितका लागि अझ बढी प्रतिबद्ध भएर काम गर्न उनले कर्मचारीहरूलाई शुभकामना पनि दिइन् ।

प्रबन्धक निर्देशक पहाडीले भनिन्, ‘यस कम्पनीमा पुनर्बहाली मेरोमात्र भएको छैन, अरू साथीहरूको पनि पुनर्बहाली भएको छ र उहाँहरूलाई पनि हामीले आ-आफ्नो कर्म क्षेत्रमा खटाइसकेका छौं ।’ 

कर्मचारीहरूलाई अहिले केही समय कुलडाउन हुन समयसमेत दिएको उनले बताइन् । 

Share News