काठमाडौं । कंगोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब एक हजार पुगेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार यस प्रकोपमा हालसम्म कम्तीमा ९९९ जनाको मृत्यु भएको छ ।
कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा दुई हजार ४७३ जना संक्रमित भएका छन् भने ७३७ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन् ।
गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएकोमध्ये एक भएको अधिकारीले बताएका छन् ।
यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन । स्वास्थ्य अधिकारीका अनुसार यस प्रकोपले विगतका ठूला इबोला प्रकोपको तुलनामा छोटो समयमै ठूलो मानवीय क्षति पु¥याएको छ ।
सन् २०१३/२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो, तर मृत्यु संख्या एक हजार पुग्न करिब आठ महिना लागेको थियो । इबोला अत्यधिक संक्रामक रोग हो, जुन संक्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थलगायतको सम्पर्कबाट सर्न सक्छ ।
यो रोग गम्भीर प्रकृतिको हुने र धेरै अवस्थामा ज्यान जोखिममा पार्ने स्वास्थ्य विज्ञले बताएका छन् । अधिकारीले नयाँ संक्रमितमध्ये करिब ८० प्रतिशतमा संक्रमणको स्रोत अझै पहिचान हुन नसकेको बताएका छन् । यसले संक्रमण नियन्त्रण र निगरानीकार्य थप चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ ।
प्रकोपको केन्द्रविन्दु रहेको इतुरी प्रान्तसहित प्रभावित अन्य क्षेत्रमा स्वास्थ्य टोलीले नियन्त्रण तथा उपचार प्रयास तीव्र बनाएका छन् ।
तर, स्वास्थ्य केन्द्र र प्रतिकार्य टोलीमाथि भएका आक्रमण तथा केही स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियान प्रभावित भएको छ ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक डा. जीन कासेयाले घानामा आयोजित स्वास्थ्य सम्मेलनमा प्रकोप नियन्त्रणका लागि तत्काल थप प्रयास आवश्यक रहेको बताए ।