काठमाडौं । व्यवसायी शंकर अग्रवाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा बुधबार (साउन ६ गते) पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
जेठको २८ गते शंकर अग्रवाल, सुलभ अग्रवाल र दीपक भट्टविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका भट्ट, जगदम्बा स्टील्सका सञ्चालक शंकरलाल अग्रवाल र शुलभ अग्रवाल पक्राउ परिसकेका छन् ।
उनीहरूविरुद्ध मिलोमतो गरी बैंकबाट लिएको ऋण दुरुपयोग गरेको अभियोग लगाइएको छ । अभियोगपत्र दर्ता हुँदा फरार जनाइएका शंकरलाललाई सीआईबीको टोलीले साउन ६ पक्राउ गरी उच्च अदालत, पाटनमा हाजिर गराएको थियो ।
यो समाचार तयार पार्दा पाटन उच्च अदालतमा दीपक भट्ट, सुलभ अग्रवाल र शंकर अग्रवालको थुनछेक बहस भइरहेको छ । उनीहरूविरुद्ध ४२ करोड बैंकको ऋण दुरुपयोगको आरोप छ ।
जगदम्बा स्टील्सले बैंकबाट लिएको ऋणलाई भट्टको खातामा पठाई इन्फिनिटी होल्डिङ्सको खातामा पठाइएको सीआइबीले जनाएको छ । जगदम्बा स्टील्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक लगायत वित्तीय संस्थाबाट ‘वर्किङ क्यापिटल लोन’ चालू पुँजी कर्जा र छोटो अवधिको कर्जा लिएको थियो ।
औद्योगिक कच्चापदार्थ खरिद र दैनिक कार्य सञ्चालनका निम्ति लिइएको कर्जा जगदम्बा स्टील्सले दीपक भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा स्थानान्तरण गरेको दाबी अभियोगपत्रमा छ ।
उक्त रकम हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद गर्न र व्यक्तिगत लाभका निम्ति प्रयोग गरिएको गरिएकाले बैंकिङ कसुरमा सजाय माग गरिएको छ। अग्रवालले ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ सात पैसा बैंकको कर्जा दुरुपयोग गरेको आरोप छ ।