काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत तीन विधामा सम्मानित भएको छ । बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि प्राप्त गरेको जनाएको छ ।
बैंकका अनुसार यी अवार्डले नबिल बैंकको सुदृढ वित्तीय अवस्था, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) मा गरेको योगदानसँगै साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा खेलेको भूमिकाको अन्तर्राष्ट्रिय स्तरमा कदर गरेका छन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सम्मानले बैंकप्रति ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारले राखेको विश्वासलाई थप मजबुत बनाएको बताए । उनले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको प्रतिबद्धतालाई अझ सशक्त बनाउँदै आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्डमध्ये एक मानिने युरोमनी अवार्ड्स फर एक्सिलेन्सले नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न देशका उत्कृष्ट वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ।
नबिल बैंकका अनुसार ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले बैंकको समग्र बैंकिङ उत्कृष्टता, ग्राहक केन्द्रित सेवा र डिजिटल नवप्रवर्तनलाई मान्यता दिएको छ । त्यस्तै ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, वित्तीय समावेशीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको नेतृत्वदायी योगदानको कदर गरेको जनाएको छ ।
यस्तै ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमका लागि लक्षित वित्तीय सेवा, विशेष कर्जा योजना तथा परामर्श सेवामार्फत उद्यमशीलता र आर्थिक गतिविधि विस्तारमा बैंकले खेलेको भूमिकालाई सम्मान गरेको बैंकले जनाएको छ ।
बैंकले विगत केही वर्षदेखि डिजिटल बैंकिङ, दिगो बैंकिङ अभ्यास र वित्तीय समावेशीकरणमा निरन्तर लगानी गर्दै ग्राहक, समुदाय, सेयरधनी तथा समग्र अर्थतन्त्रका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने रणनीतिलाई अघि बढाइरहेको जनाएको छ ।