काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सङ्घीय सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा परिवारका सदस्य वा नजिकका आफन्तलाई नियुक्त नगर्न निर्देशन दिएको छ ।
पार्टीको संसदीय दलको समूहमा सन्देश पठाउँदै पार्टी महामन्त्री विपिनकुमार आचार्यले पार्टीले सुशासन, पारदर्शिता र नातावादविरुद्धको आफ्नो प्रतिबद्धतालाई कार्यान्वयन गर्न यस्तो आन्तरिक मापदण्ड लागू गरेको बताएका छन् ।
शुक्रबार बिहान दलको ह्वाट्सएप समूहमा महामन्त्री आचार्यले स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै स्वकीय सचिव नियुक्ति गर्दा एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरेका छन् । नियुक्ति प्रक्रिया पारिवारिक वा नातागोताको प्रभावभन्दा बाहिर रहेर योग्यता, क्षमता र कार्यसम्पादनका आधारमा हुनुपर्ने महामन्त्री आचार्यको निर्देशनमा उल्लेख गरिएको छ ।
निर्देशनमा भनिएको छ, 'पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप स्वकीय सचिव नियुक्ति गर्दा एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको छ । नियुक्ति पारिवारिक तथा नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ ।'
रास्वपाले राज्यकोषबाट उपलब्ध हुने सुविधा जनउत्तरदायी, पारदर्शी र मितव्ययी ढङ्गले प्रयोग गर्नुपर्नेमा जोड दिँदै स्वकीय सचिव नियुक्तिमा व्यक्तिगत सम्बन्धभन्दा संस्थागत मापदण्डलाई प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिएको हो ।
सरकारले हालै सङ्घीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्ने सुविधा उपलब्ध गराउने निर्णय गर्दै त्यससम्बन्धी व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ संशोधन भएपछि प्रत्येक सङ्घीय सांसदले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत सरहका एक जना स्वकीय सचिव नियुक्त गर्न पाउने व्यवस्था लागू भएको छ । उक्त व्यवस्था सांसदहरूको कानुन निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधनजस्ता संसदीय जिम्मेवारीलाई थप प्रभावकारी बनाउन गरिएको हो ।
तर, रास्वपाले भने यो सुविधा व्यक्तिगत लाभ वा नातावादको माध्यम बन्न नदिन आफ्ना सांसदहरूका लागि छुट्टै आन्तरिक आचारमापदण्ड लागू गरेको हो । रास्वपाका एक सांसदका अनुसार मापदण्डमा खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव छान्ने व्यवस्था भएको भए अझ राम्रो हुने थियो । ती सांसद भन्छन्, 'नजिकको व्यक्तिलाई स्वकीय सचिव राख्दा विश्वासिलो त हुन्छ । टाढाको मान्छेलाई स्वकीय सचिव राख्ने हो भने खुला प्रतिस्पर्धाबाट राख्न पाए अझ राम्रो हुने थियो ।'
पार्टीका अनुसार स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, उत्तरदायी र सुशासनको सिद्धान्तअनुरूप सञ्चालन गर्नुपर्ने भएकाले नियुक्तिमा योग्यता, क्षमता र व्यावसायिक दक्षतालाई प्राथमिक आधार बनाइनेछ । यस्तो व्यवस्थाले सार्वजनिक स्रोतको सदुपयोग सुनिश्चित गर्नुका साथै पार्टीले अघि सारेको सुशासन र जवाफदेहिताको एजेन्डालाई व्यवहारमै कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।