‘सडकमा जरिवाना मात्र होइन, पहिले पूर्वाधार बनाऊ’: अध्यक्ष सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले सडकमा नियम र जरिवाना मात्र थोपर्नुको सट्टा पहिले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । ट्राफिक मेट्रो एफ.एम. ९५.५ को १४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखे । 

अध्यक्ष सिटौलाले सडकमा यात्रु प्रतिक्षालय, व्यवस्थित बस स्टप र गुणस्तरीय सडकको अभाव रहेको औंल्याउँदै भने, ‘सिंगापुर र अमेरिकाको सडक हेरेर नेपालमा ऐन बनाउनु हुँदैन । हाम्रो भूगोल, जनता र आवश्यकता अनुसारका व्यावहारिक नियम ल्याउनुस्। पूर्वाधार नबनाई जरिवाना मात्र बढाउनु न्यायसंगत छैन । ’

२१औं शताब्दीमा पनि ट्राफिक प्रहरीले सडकको धुलो खाँदै सिठ्ठीको भरमा सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था दुःखद रहेको उनको तर्क थियो ।  ‘अब सिठ्ठी फुकेर र हात हल्लाएर होइन, प्रविधिमैत्री ट्राफिक व्यवस्थापन हुनुपर्छ,’ उनले भने । 

उपत्यकाको ट्राफिक जाम कम गर्न साना सवारी साधनलाई विस्थापित गरी १०० सिटसम्मका ठूला सवारी साधन सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

सिटौलाले विगत १४ वर्षदेखि ट्राफिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको ट्राफिक एफ.एम.लाई सरकारले बेवास्ता गरेको गुनासो गरे । 

‘यति महत्त्वपूर्ण एफ.एम. चलाउन देउसी-भैलो खेलेझैं विज्ञापन माग्दै हिँड्नुपर्ने अवस्था आउनु हुँदैन,’ उनले थपे, ‘सरकारले यसलाई विशेष बजेट र स्रोतको व्यवस्था गरेर देशैभरि विस्तार गर्नुपर्छ । ’

यातायात व्यवसायी र मजदुरहरूलाई मात्र दोषी देख्ने प्रवृत्तिको आलोचना गर्दै सिटौलाले मर्यादित र व्यवस्थित यातायात क्षेत्रका लागि सबै सरोकारवालाहरू मिल्नुपर्ने बताए ।

उनले व्यवसायी, मजदुर र ट्राफिक प्रहरीको साझा प्रयासबाट मात्रै सडक अनुशासन कायम गर्न सकिने विश्वास व्यक्त गरे । 

Share News