खुकुरी प्रहारबाट महिलाको मृत्यु

काठमाडौं । आपसी विवादमा रौतहटको गजुरा नगरपालिका-५ हरिपुरमा आज एक पुरुषले खुकुरी प्रहार गरी महिलाको हत्या गरेको छ ।

बाराको करैयामाई गाउँपालिका-८ इटहर बेलाही घर भई हाल हरिपुरमा बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरी स्थानीय ४५ वर्षीय रेणुदेवी जयवालको हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार आपसी विवादका क्रममा कलवारले प्रहार गरेको खुकुरी लागेर गम्भीर घाइते जयसवालको घटनास्थलमै मृत्यु भएको हो । 

घटनापश्चात् आक्रोशित स्थानीयहरूले कुटपिट गर्दा कलवार घाइते भएको र उनलाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
 

Share News