काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न ह्याम्स अस्पतालले साउन २४ गते दिउँसो २ बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजीको उपयोग सम्बन्धी प्रस्तावमा छलफल हुने जनाएको छ ।
साथै सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट आवश्यक निर्देशन आएमा सोअनुसार संशोधन, परिमार्जन वा सच्याउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्तावसमेत सभामा प्रस्तुत गरिनेछ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ ।
साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र गत आर्थिक वर्षमा सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।