विदेश पठाइदिने भन्दै ठगी गर्ने ओसिस टुरिज्ममा प्रहरीको छापा, २ सञ्चालक पक्राउ

काठमाडौं । विदेश भ्रमणको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पोखरास्थित ओसिस टुरिज्म इन्टरनेशनलका दुई सञ्चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-५ पर्स्याङस्थित कम्पनीको कार्यालयमा छापा मारेर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका-१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यको सान्तीनगरका मोहम्मद यासेर रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कार्यालयबाट कम्प्युटरलगायत अनुसन्धानका लागि आवश्यक सामग्री पनि बरामद गरेको जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कम्पनी नेपाली नागरिकको नाममा दर्ता भए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको खुलेको छ ।

कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्डलगायतका देशमा सस्तो प्याकेजमा घुम्न लैजाने प्रलोभन देखाएर ग्राहकलाई आकर्षित गर्ने गरेको प्रहरीको आरोप छ । प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मका प्याकेज बिक्री गरी सुरुमा अग्रिम रकम संकलन गर्ने र पूर्ण भुक्तानी भएपछि कम्पनी बन्द गरेर सञ्चालकहरू फरार हुने योजनाअनुसार ठगी गरिएको प्रहरीको दाबी छ ।

डीएसपी भट्टराईका अनुसार विभिन्न आकर्षक अफर देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाइन्थ्यो। पर्याप्त रकम संकलन भएपछि कार्यालय बन्द गरी सम्पर्क विहीन हुने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

छापा मार्ने क्रममा कार्यालयमा कार्यरत १५ जना युवती फेला परेका थिए । उनीहरूमाथि आवश्यक सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य दुई सञ्चालक फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको छ । साथै, ठगीमा परेको हुन सक्ने अन्य पीडितको विवरण संकलन गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News