काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका थप ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । समितिले सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन ऐन, २०७५, सम्बन्धित अदालतबाट जारी भएका निर्देशनात्मक आदेश तथा नेपाल सरकारको निर्णयअनुसार बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।
समितिका अनुसार बचत फिर्ता गर्दा कार्यविधिअनुसार प्राथमिकता निर्धारण गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, स्वीकृत चिकित्सकबाट प्राणघातक रोग लागेको प्रमाणित भएका बचतकर्ता, एकल महिला तथा पूर्ण अशक्त वा पूर्ण अपाङ्गता भएका बचतकर्तालाई पहिलो प्राथमिकतामा राखेर बचत फिर्ता गरिँदै आएको छ । त्यस्तै, एक लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्तालाई एकपटकमा बढीमा ५० प्रतिशत वा अधिकतम पाँच लाख रुपैयाँसम्म बचत फिर्ता गर्ने व्यवस्था लागू गरिएको समितिले जनाएको छ ।
समितिले दिएको जानकारीअनुसार गत २०८३ असार ५ गते कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना तथा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका २ जना गरी कुल ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो ।
समितिका अनुसार ती बचतकर्तालाई प्रतिव्यक्ति अधिकतम दुई लाख ५० हजार रुपैयाँका दरले बचत रकम फिर्ता गरिएको छ । बचतकर्ताबाट प्राप्त निवेदन तथा मागदाबीलाई प्राथमिकताका आधारमा अध्ययन गरी चरणबद्ध रूपमा रकम फिर्ता गर्ने प्रक्रिया जारी रहेको समितिले जनाएको छ ।