काठमाडौं । सरकारले विभिन्न मुलुकमा कार्यरत छजना करिअर राजदूतको कार्यकाल अनिश्चितकालका लागि थप गरेको छ ।
भदौ महिनामा कार्यकाल पूरा गरी परराष्ट्र मन्त्रालय फर्किने तयारीमा रहेका उनीहरूलाई नयाँ राजदूत नियुक्ति नहुन्जेलसम्म सम्बन्धित मुलुकमै जिम्मेवारी सम्हाल्ने गरी निरन्तरता दिइएको हो ।
कार्यकाल थप गरिएका राजदूतहरूमा घनश्याम भण्डारी बंगलादेश, भरतराज रेग्मी अष्ट्रिया, निर्मलराज काफ्ले ब्राजिल, हरिशचन्द्र घिमिरे म्यानमार, तीर्थराज वाग्ले बहराइन र सुशील लम्साल इजिप्ट रहेका छन् ।
उनीहरू सबै नेपाल परराष्ट्र सेवाका सहसचिव तथा करिअर डिप्लोम्याट हुन् ।
उच्च सरकारी स्रोतका अनुसार यी राजदूतहरू स्वदेश फर्किएपछि उनीहरूको स्थानमा नयाँ सहसचिवलाई राजदूत बनाएर पठाउने तयारी थियो ।
त्यसका लागि परराष्ट्र मन्त्रालयभित्र आधा दर्जनभन्दा बढी सहसचिवले तीव्र लबिङसमेत गरिरहेका थिए । तर प्रधानमन्त्री वालेन्द्र साह र परराष्ट्रमन्त्री शिशिर खनालबीच नयाँ राजदूत छनोटको विषयमा सहमति जुट्न नसक्दा नियुक्ति प्रक्रिया नै रोकिएको छ ।
यसै कारण सरकारले तत्कालका लागि कार्यकाल सकिन लागेका राजदूतलाई फिर्ता नबोलाई उनीहरूको अवधि अनिश्चितकालका लागि थप्ने निर्णय गरेको हो ।
परराष्ट्र स्रोत भन्छ, ‘अर्को नियुक्ति नहुनेबेलासम्म बहाल रहेका राजदूतलाई नै काम गर्न समय थपिएको हो ।’
सरकारले केही महिनाअघि विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्न खुला आवेदनसमेत आह्वान गरेको थियो । योग्य र प्रतिस्पर्धात्मक प्रक्रियाबाट राजदूत छनोट गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म कुनै पनि नयाँ नियुक्ति टुंगो लागेको छैन ।
नेपालका ३१ आवासीय दूतावास, सबैमा छैनन् राजदूत
परराष्ट्र मन्त्रालयका अनुसार नेपालका हाल ३१ वटा आवासीय दूतावास, ३ वटा स्थायी नियोग र १० वटा महावाणिज्यदूतावास सञ्चालनमा छन् । अर्थात् विदेशमा नेपालका कुल ४४ वटा आवासीय कूटनीतिक नियोग रहेका छन् ।
तर ती सबै दूतावासमा पूर्णकालीन राजदूत भने छैनन् । केही मुलुकमा कार्यवाहक प्रमुख चार्ज द’अफेयर्सले दूतावास सञ्चालन गरिरहेका छन् भने केही दूतावासमा राजदूत नियुक्तिको प्रक्रिया लामो समयदेखि रोकिएको छ।
सरकारले नयाँ राजदूत नियुक्ति प्रक्रिया टुंग्याउन नसक्दा नेपालका १७ वटा आवासीय दूतावास अझै राजदूतविहीन रहेका छन् ।
सरकारले यसअघि राजनीतिक नियुक्तिबाट गएका राजदूतहरूलाई फिर्ता बोलाएपछि भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, दक्षिण अफ्रिका, श्रीलंका, डेनमार्क, इजरायल, मलेसियालगायतका महत्त्वपूर्ण नियोगमा राजदूत पद रिक्त छ ।
प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालबीच नयाँ राजदूत नियुक्तिमा सहमति जुट्न नसक्दा नियुक्ति प्रक्रिया रोकिएको सरकारी स्रोतले जनाएको छ ।
यसका कारण महत्त्वपूर्ण कूटनीतिक नियोगहरू लामो समयदेखि कार्यवाहक प्रमुखको भरमा सञ्चालन भइरहेका छन् ।