काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन् ।
काठमाडौंमा आइतबार सुरु भएको तीन दिने सम्मेलनमा अभियन्ताहरू सम्मानित भएका हुन् ।
सम्मेलनमा इन्टरनेट सेवालाई सार्वजनिक पहुँचमा विस्तार गर्न योगदान दिएका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र भुटानका अभियन्ताहरु सम्मानित भएका हुन् ।
सम्मानित अभियन्ताहरुमा नेपालका दीलिप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर र भुटानका जिचेन थिन्ले छन् ।
इन्टरनेट इनेबलर्सद्वारा जारी विज्ञप्तिअनुसार यी अभियन्ताहरूले इन्टरनेट दैनिक जीवनको हिस्सा बन्नुअघिदेखि नै सर्वसाधारणमा इन्टरनेटको पहुँच पुर्याउन र इन्टरनेटको व्यावसायिक सेवा बिस्तारमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
इन्टरनेट इनेबलर्सले यसअघि नै नेपालका गौरवराज उपाध्यायलाई एसिया प्रशान्त क्षेत्रका अभियन्ताका रूपमा सम्मानित गरिसकेको छ । उपाध्याय सानोगका संस्थापक हुन्।
भारतका निरज सोनकरले सन् १९९५ मा भीएसएनएलमार्फत प्रथम व्यावसायिक इन्टरनेट सेवा जिआइएएस सुरु गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भारतकै सूचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सुरु हुनुअघि नै बुलेटिन बोर्ड सिस्टममार्फत हजारौं प्रयोगकर्तालाई अनलाइन सञ्चार परिचित गराएका थिए ।
त्यसैगरी, बंगलादेशका सुमोन अहमद साबिरलाई बिडिकमको विकासलगायत तीन दशक लामो योगदानका कारण सम्मानित गरिएको हो ।
भुटानका थिन्लेलाई प्रारम्भिक इन्टरनेट तथा जिएसएम मोबाइल नेटवर्क बिस्तारमा गरेको दीर्घकालीन योगदानका निम्ति सम्मान दिइएको विज्ञप्तिमा जनाइएको छ ।
नेपालको पहिलो इन्टरनेट इनेबलर्स अवार्ड पाएका दीलिप अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट वर्ल्डलिंकको सुरुवात गरेका थिए । छोटो समयमै उनले कम्पनीलाई नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित गरेका छन् ।
आज वर्ल्डलिंकको सेवा देशका अधिकांश जिल्लामा पुगेको छ र नेपालमा हुने करिब आधा इन्टरनेट ट्राफिक यसैको सञ्जालमार्फत प्रवाह हुने गरेको छ ।
उनको योगदानलाई नेपालमा दक्षिण एसियामै उच्च ब्रोडब्यान्ड पहुँच हासिल गर्न मद्दत पुर्याउने प्रमुख आधारहरूमध्ये एक मानिन्छ ।
इन्टरनेट इनेबलर्सको अवधारणा कोभिड महामारीपछि पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनमा जन्मिएको हो ।
इन्टरनेट इनेबलर्सले यसकै लागि एसिया प्यासिफिकमा इन्टरनेटको इतिहास संरक्षण गर्ने उद्देश्यसहित आफ्नो प्राविधिक नेतृत्व, दूरदृष्टि र समर्पणमार्फत डिजिटल पूर्वाधार निर्माण गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।