काठमाडौं । ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित व्यास सुपर स्पेसालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्य गरेको छ ।
नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशिष्टीकृत स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले ह्याम्सले सहकार्य गरेको हो ।
सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित कार्डियाक तथा थोरासिक शल्यचिकित्सासम्बन्धी चिकित्सकहरूको निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रममा गरिएको हो ।
सहकार्यले जटिल रोगहरूको उपचार, विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार व्यवस्थापन तथा उपचारपछिको फलो–अप सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउनेछ। यसबाट नेपाली बिरामीले अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा नेपाल र भारतका वरिष्ठ कार्डियोथोरासिक तथा थोरासिक शल्यचिकित्सा विशेषज्ञहरूले न्यून चिरफार (मिनिमली इन्भेसिभ) शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीन अभ्यासबारे अनुभव र अनुसन्धान आदानप्रदान गरेका थिए ।
ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले उक्त सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गरे ।
उनले यसबाट उपचारको गुणस्तर, समन्वय र उपचारपछिको निरन्तर निगरानी प्रणाली थप सुदृढ हुने बताए ।
उनका अनुसार सहकार्यअन्तर्गत नेपाली बिरामीले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, आवश्यक परे भारतस्थित व्यास सुपर स्पेसालिटी अस्पतालमा उपचारको समन्वय तथा उपचारपछिको फलो–अप सेवा एकीकृत रूपमा प्राप्त गर्नेछन् ।
ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।
साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षित, गुणस्तरीय र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसले अझ सुदृढ बनाउने विश्वास अस्पतालले व्यक्त गरेको छ ।