व्हाट्सएपबाट एमबीएस प्रश्नपत्र फैलाउने प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र गोपनीयता भंग प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गत अनुसन्धान भइरहेका बेला थप संलग्नता देखिएका दुई जनालाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रौतहटका २५ वर्षीय अतुलकुमार मिश्र र बाराका ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन् । मिश्रलाई काठमाडौंको ताहाचलबाट र हाकिमलाई पर्साको वीरगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन ८ गते त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा सार्वजनिक भएको थियो । त्यस घटनापछि प्रहरीले प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Share News