घुस लिएर जग्गामा लगानी, श्रीमतीको नाममा कारोबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले पदमा रहँदा विभिन्न निर्माण कम्पनीलाई अर्बौं रुपैयाँका ठेक्कापट्टा दिलाएबापत घुस लिई सो रकम आफ्नी श्रीमतीको नाममा जग्गा खरिदमा लगानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध  १ करोड ७१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन तथा तहीकरण (सम्पत्ति शुद्धीकरण) को कसुरमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारको अनुसन्धान अनुसार अधिकारी क्यानको सिभिल इन्जिनियर (सातौं तह) देखि महानिर्देशकसम्मको पदमा रहँदा ’उमा एण्ड कम्पनी प्रा.लि.’ (जेभी समेत) लाई  ३ अर्ब ८ करोड ५७ लाख रुपैयाँभन्दा बढी र ठेकेदार प्रेम प्रकाश ढकाल प्रमुख रहेको ‘गायत्री निर्माण सेवा’ लाई १ करोड ११ लाख रुपैयाँभन्दा बढीका ठेक्कापट्टा पारेको अभियोगपत्रमा उल्लेख छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, गौतमबुद्ध, जनकपुर, रारा, कालिकोट तथा नलीनचोक हेलिपोर्ट लगायतका विभिन्न राष्ट्रिय आयोजनाका बोलपत्र स्वीकृत गर्ने र सहजीकरण गरिदिएबापत उनले ठेकेदारहरूसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिने सम्झौता गरेको खुलेको छ । 

अधिकारीले भ्रष्टाचारबापतको घुस सोझै नलिई सम्पत्ति शुद्धीकरण गर्ने नियतले आफ्नी श्रीमती सुफल के.सीको नाममा जग्गा खरिद गर्न प्रयोग गरेको अनुसन्धानमा देखिएको छ । ललितपुर महानगरपालिका वडा नं. ५ स्थित १३ आना (कि.नं. २२४) जग्गा जग्गाधनी रजनी श्रेष्ठबाट श्रीमतीको नाममा पास गर्दा जग्गाधनीका श्रीमान् सूर्य ताम्राकारको बैङ्क खातामा ठेकेदारहरूका खाताबाट सोझै रकम जम्मा गर्न लगाइएको उल्लेख छ । 

 २ करोड ७५ लाख रुपैयाँमा तय भएको उक्त जग्गा खरिदमा राजस्व छलछाम र गैरकानुनी रकम लुकाउने उद्देश्यले लिखतमा भने ९१ लाख रुपैयाँ मात्र थैली कायम गरी मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गराइएको अभियोगपत्रमा उल्लेख छ । 

बैंक स्टेटमेन्ट र बयानका क्रममा जग्गाधनीका श्रीमान सूर्य ताम्राकारको खातामा उमा एण्ड कम्पनीको खाताबाट ५ लाख, सञ्चालक वासु खड्काको खाताबाट ४० लाख, सञ्चालकहरूको संयुक्त खाताबाट ४७ लाख, कर्मचारी राजन खड्काको खाताबाट १२ लाख र सञ्चालक प्रेम प्रकाश ढकालको खाताबाट २२ लाख रुपैयाँ दाखिला भएको उल्लेख छ । 

उमा एण्ड कम्पनीका सञ्चालकहरू वासु खड्का र ध्रुव प्रसाद तिमल्सिनाले क्यानको ठेक्कापट्टामा सहजीकरण गरिदिएबापत अधिकारीले भनेकै बैंक खातामा एकाउन्ट पेयी चेक काटेर रकम दिएको अख्तियारसमक्ष स्वीकारेका छन् ।

null

यस प्रकरणमा अख्तियारले तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, उमा एण्ड कम्पनीका सञ्चालक प्रेम प्रकाश ढकाल र गायत्री निर्माण सेवालाई प्रतिवादी बनाएको छ । अधिकारीकी श्रीमती सुफल के.सी नेपाली सेनामा कार्यरत रहेकाले निजको हकमा संविधानको धारा २३९ र सैनिक ऐन, २०६३ बमोजिम आवश्यक कारबाहीका लागि जङ्गी अड्डा (सैनिक प्रहरी गण) मा फिर्ता पठाइएको छ । 

अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम१ करोड ७१ लाख रुपैयाँ बिगो, बिगो बमोजिम कैद तथा जरिवानाको माग गर्दै गैरकानुनी रूपमा खरिद गरिएको ललितपुरको १३ आना जग्गासमेत जफत गर्न मागदाबी गरेको छ ।

null

Share News