काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरूलाई आग्रह गरेका छन् ।
केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित छन् ।
निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा. वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरू प्रकाशित भएपछि उनले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टीकरण दिएका हुन् ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ । हाम्रो निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेटपछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ ।’
उनले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पारे ।
उनले प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको बताए ।
उनले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहाेर्याए ।
अर्थमन्त्री वाग्लेले मुलुकका आर्थिक मुद्दाहरूमा प्रधानमन्त्री शाहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरूको पछाडि नलाग्न आग्रहसमेत गरे ।