काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड मंगलबार (आज) मंगलबार राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द रहने भएको छ ।
सुख्खा पहिरो खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले सवारी आवागमनमा रोक लगाएको हो । पहिरोका कारण हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गरी यो निर्णय गरिएको हो ।
मंगलबार साँझ ६ बजे मुग्लिन बजार नजिकै तेस्रोपटक सुख्खा पहिरो खसेको थियो । पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडक विभागका इन्जिनियरको नेतृत्वमा मेसिन प्रयोग गरी पहिरो पन्छाइएको छ ।
अहिले सडक सञ्चालनमा आए पनि पहिरो खस्ने क्रम रोकिएको छैन । सडक डिभिजन भरतपुरले जोखिम कायमै रहेकाले सतर्कता अपनाउन भनेको छ ।
प्रशासनले मंगलबार १२ साउन राति ८ बजेदेखि भोलि १३ साउन बिहान ५ बजेसम्म सबै प्रकारका गाडी चलाउन रोक लगाएको छ । रातको समयमा यात्रा गर्दा ठूलो दुर्घटना हुन सक्ने भएकाले यात्रा नगर्न सबैलाई अनुरोध गरिएको छ ।
सडक विभाग र प्रशासनले पहिरोको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेका छन् । सडक बन्द रहेको समयमा थप जानकारी वा सहयोगका लागि विभिन्न नम्बरहरु सार्वजनिक गरिएको छ । नागरिकले नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा फोन गर्न सक्ने छन् ।
त्यस्तै, जिल्ला आपतकालीन केन्द्र (डिइओसीमा) को १२३४ नम्बरमा सम्पर्क गर्न मिल्नेछ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीलाई ९८५५०१३९९९ नम्बरमा सिधै फोन गर्न सकिनेछ ।
