काठमाडौं । सुनसरीमा घटेको दुःखद घटना र त्यसपश्चात् उब्जिएको संवेदनशील परिस्थितिबारे साझा रणनीति तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेको पहलमा बुधबार (भोलि) बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा उक्त छलफल आयोजना गरिएको हो ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेतृत्वका दलहरूलाई समेत आमन्त्रण गरिएको छ ।
सभापतिको सचिवालयका अनुसार सबै दललाई औपचारिक पत्राचार गरिनुका साथै सभापति लामिछाने स्वयंले शीर्ष नेताहरूसँग टेलिफोन संवाद गरी बैठकमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
घटनापश्चात् सामाजिक द्वेष फैलिन नदिन र शान्ति सुरक्षा कायम राख्न राजनीतिक वृत्तबाट साझा सन्देश दिनुपर्ने आवश्यकता महसुस गरी बैठक डाकिएको रास्वपाले जनाएको छ ।