संस्थापक दिवसमा दिवाकर गोल्छा अर्गनाइजेशनद्वारा स्वास्थ्य, शिक्षा र वातावरणमा योगदान

काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेशनले आफ्ना संस्थापक स्वर्गीय दिवाकर गोल्छाको ७२औं जन्मजयन्ती तथा संस्थापक दिवसका अवसरमा देशभर विभिन्न सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थाले साउन १३ गतेलाई संस्थापक दिवसका रूपमा मनाउँदै आएको जनाएको छ । औद्योगिकीकरण, उद्यमशीलता विकास र स्वदेशमै रोजगारी सिर्जनामा स्वर्गीय गोल्छाले पुर्याएको योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष यो दिवस विशेष कार्यक्रमसहित मनाउने गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संस्थापक दिवसको अवसरमा उद्योगका विभिन्न कारखाना, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा अन्य शाखामा विविध कार्यक्रम आयोजना गरिएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, उत्कृष्ट कर्मचारी सम्मान, वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरणलगायतका कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

यसै अवसरमा किर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण पनि हस्तान्तरण गरिएको छ । संस्थाले स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने उद्देश्यले उक्त उपकरण उपलब्ध गराएको जनाएको छ ।

दिवाकर गोल्छा अर्गनाइजेशनका अनुसार स्वर्गीय गोल्छाको औद्योगिकीकरण र स्वदेशमै रोजगारी सिर्जना गर्ने सोचलाई निरन्तरता दिँदै देशका विभिन्न स्थानमा जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, एल्युमिनियम, स्टिलका भाँडाकुँडा, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन भइरहेका छन् । ती उद्योगमार्फत करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

संस्थाले नेपालकै पहिलो स्टिल उद्योगका रूपमा स्थापित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रामा देशको औद्योगिक विकास, अर्थतन्त्र र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ ।

दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोगसहितका कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News