दाङ । सरकारले महिलाको नाममा जग्गा खरिद गर्दा कर छुट दिने व्यवस्था गरेसँगै दाङमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन पास गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
नेपालको कानुनी व्यवस्थाअनुसार महिलाको नाममा जग्गा पास गर्दा सामान्यतया २५ देखि ३५ प्रतिशतसम्म कर छुट दिने व्यवस्था छ ।
आर्थिक वर्ष २०७९/०८० मा रु आठ करोड ४५ लाख ४० हजार ४७६, आव २०८०/०८१ रु छ करोड ६१ लाख ६१ हजार, आव २०८१/०८२ मा रु तीन करोड ६९ लाख ९७ हजार ६२६ र आव २०८२/०८३ मा दलित तथा जनजातिले रु ६९ लाख ४८ हजार १३३ जग्गा रजिष्ट्रेसनबापत छुट पाएका छन् ।
सरकारले यसप्रकार राजस्व छुट दिएका कारण दाङमा घर, जग्गा र व्यवसायको मालिक पनि महिला हुन थालेका छन् । महिलाको नाममा सम्पत्ति जोड्दा उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् भन्ने अड्कलबाजी अन्ततः यहाँ क्रमशः हराउँदै जान थालेको पाइन्छ ।
नेपालको संविधानमा कानुनले अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारण जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो ।
आव २०७९/०८० मा सात हजार ७९९, आव २०८०/०८१ मा नौ हजार ८९३, आव २०८१/०८२ मा छ हजार २९८, आव २०८२/०८३ मा ३९५ महिलाले आफ्नो नाममा जग्गा पास गरेका दाङका प्रमुख मालपोत अधिकृत शान्तराज गौतमले जानकारी दिए ।
'बुहारी पनि छोरीसरह हुन् । उनको नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने ?,' तुलसीपुर उपमहानगरपालिका–६ का ६५ वर्षीय रामु चौधरीले भने।