काठमाडौं । सिल्क ग्रुपले व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले एक विशेष कार्यक्रम आयोजना गरी ‘चाइना बजार’ ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको हो । ‘चाइना बजार’ले प्रारम्भिक चरणमा व्यवसायदेखि ग्राहक (बीटुसी) मोडलमार्फत सेवा सुरु गरेको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए ।
उनले ‘चाइना बजार’सँगै कम्पनीले पहिलो अफलाइन रिटेल स्टोर पनि सञ्चालनमा ल्याएको बताए । उनका अनुसार ग्वार्खोस्थित टुलिप होटल परिसरभित्र सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् ।
कम्पनीले एक वर्षभित्र वीरगञ्ज र भैरहवामा थप दुई वटा ‘एक्सपेरियन्स स्टोर’ विस्तार गर्ने योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले आगामी दिनमा व्यवसायदेखि व्यवसाय (बीटुबी) सेवा पनि देशभर विस्तार गर्ने बताए । ‘चाइना बजार’मार्फत साना तथा मझौला व्यापारीहरूले समेत प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ ।
कम्पनीले ई–कमर्स प्लेटफर्मलाई देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । ‘चाइना बजार’ले नेपाली उपभोक्ताको दैनिक किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने उनको भनाइ छ ।
सिल्क ग्रुपले आईपीओ जारी गर्ने तयारी गरेको जानकारी दिँदै अध्यक्ष शेर्पाले छिट्टै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरे ।
उनले भने, ‘सिल्क ग्रुपले व्यवसाय विविधीकरण गर्दै ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’ सञ्चालनमा ल्याएको छ । सुरुमा ‘चाइना बजार’ले बीटुसी अर्थात् व्यवसायबाट ग्राहकलाई सेवा दिन्छ । ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’सँगै हामीले ‘चाइना बजार’को एक्सपेरियन्स स्टोर पनि सञ्चालनमा ल्याएका छौँ । यो एक्सपेरियन्स स्टोर अर्थात् अफलाइन रिटेल स्टोर हो । यसले ग्राहकलाई सामान प्रत्यक्ष हेर्ने र अनुभव गर्ने अवसर दिन्छ । हामी यसलाई बिस्तारै देशभरका प्रमुख सहरमा विस्तार गर्दै जानेछौँ ।’
‘चाइना बजार’मार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, उचित र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा लाग्ने अतिरिक्त शुल्कको भार अब ग्राहकले बेहोर्नु नपर्ने कम्पनीले जनाएको छ ।
‘चाइना बजार’ले चीनका उत्पादनकर्ताबाट प्रत्यक्ष सामान खरिद गर्ने, आफ्नै गोदाममा भण्डारण गर्ने र ग्राहकसम्म डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ । यसबाट डेलिभरी समय कम हुने, लागत घट्ने र मूल्यमा पारदर्शिता कायम रहने कम्पनीको दाबी छ ।
‘इन्जोय योर सपिङ’ भन्ने नारासहित सुरु गरिएको ‘चाइना बजार’मा प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामग्री तथा स्वास्थ्य र सौन्दर्यसम्बन्धी सामग्री उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ग्राहकले ईसेवा र खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् ।