तराई घटनाप्रति चेम्बरको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही जिल्लामा हालै भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कुनै पनि हालतमा कमजोर हुन नदिन सबै पक्षसँग आग्रह गरेको छ। 

चेम्बरले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

विज्ञप्तिमा नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको आधारमा अघि बढेको मुलुक भएकाले यही विविधता नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख छ । 

यस्तो संवेदनशील अवस्थामा संयमता अपनाउन, जिम्मेवार व्यवहार गर्न तथा अफवाह, भ्रामक सूचना र कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन चेम्बरले सबै नागरिकलाई अपिलसमेत गरेको छ ।

चेम्बरले मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो कुनै असहमति वा मतभेद हुन नसक्ने उल्लेख गर्दै शान्ति र जनजीवनलाई पुनः सामान्य बनाउन सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल तथा समुदायका अगुवाले गरिरहेका प्रयासप्रति समर्थन जनाएको छ । 

साथै सबै सरोकारवालालाई खुला संवाद, पारदर्शिता, निष्पक्षता र आपसी सम्मानका आधारमा समन्वय र सहकार्य गर्न आग्रह पनि गरेको छ ।

विज्ञप्तिमा धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव थप मजबुत बनाउन संयुक्त रूपमा योगदान गर्न पनि आह्वान गरिएको छ। दिगो शान्ति सबैको साझा प्रयासबाट मात्र सम्भव हुने चेम्बरको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सले स्थायित्व भएको वातावरणमा मात्रै व्यवसाय र लगानी विस्तार हुने तथा समुदायबीचको एकताले परिवार र समाज समृद्ध बन्ने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

पसल, उद्योग, कार्यालय तथा व्यवसाय शान्ति, सुरक्षा, सहकार्य र आपसी सम्मानमा आधारित वातावरणमा मात्रै सफलतापूर्वक सञ्चालन हुन सक्ने उल्लेख गर्दै चेम्बरले प्रभावित व्यवसायको पुनःस्थापना र जनजीवन सामान्य बनाउन आवश्यक सहयोग गर्न निजी क्षेत्र सधैं तयार रहेको जनाएको छ ।

Share News