काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर स्थानीय एक व्यक्तिको मृत्यु भएपछि घटनाको छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।
बिहीबार दिउँसो गोलबजारमा भएको उक्त घटनामा परी स्थानीय गणेश यादवको ज्यान गएको थियो । घटना कसरी र कसको संलग्नतामा भयो भन्नेबारे सत्यतथ्य पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको कमान्डमा समिति गठन गरिएको हो ।
गठित छानबिन समितिमा प्रहरी निरीक्षक (इन्सपेक्टर) यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन् । टोलीले घटनाबारे सूक्ष्म अध्ययन तथा छानबिन सुरु गरिसकेको जनाइएको छ ।