पूर्वी नेपालका घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सुनसरीको कप्तानगञ्जसहित पूर्वी नेपालका केही जिल्लामा देखिएका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नाडाले सामाजिक सद्भाव कायम राख्दै संवाद र लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्न सबै पक्षसँग अपिल गरेको हो ।

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकता, सहिष्णुता र भाइचाराको भावना जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ ।

नाडाले संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार र माग शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट राख्ने अधिकार सुनिश्चित गरेको भए पनि हिंसा, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि कुनै पनि रूपमा स्वीकार्य नहुने जनाएको छ ।

विज्ञप्तिमा यस्ता घटनाले शान्ति–सुरक्षामा मात्र नभई उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल असर पार्ने उल्लेख गरिएको छ । विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुँदा निजी क्षेत्र थप चिन्तित बनेको नाडाको भनाइ छ ।

नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियाअनुसार संवाद र आपसी समझदारीमार्फत समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ । साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई शान्ति–सुरक्षा कायम गर्दै जनधनको संरक्षण, सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ ।

नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।

Share News