अत्यधिक लो बिडिङ गरेर ठेक्का नलिन महासंघको आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सदस्य निर्माण व्यवसायीहरूलाई अत्यधिक न्यून अङ्क (लोबिडङ) मा बोलपत्र (टेन्डर) पेस नगर्न र आफूले काम सम्पन्न गर्न सक्ने उपयुक्त दररेटमा मात्र बोलपत्र हाल्न निर्देशन दिएको छ ।

मध्यपूर्वमा जारी युद्धका कारण गत फेब्रुअरी २८ देखि इन्धन, बिटुमिन लगायतका निर्माण सामग्रीहरूमा अप्रत्याशित एवम् अत्यधिक मूल्यवृद्धि भई समग्र पूर्वाधार निर्माण क्षेत्र धराशायी हुने अवस्था बनेको भन्दै महासंघले आफ्ना सदस्यहरूलाई ध्यानाकर्षण गराएको हो । 

महासंघका महासचिव शिवहरि घिमिरेद्वारा जारी ध्यानाकर्षण पत्रमा प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको सूचकाङ्क अनुसार व्यवसायीहरूले पाउनुपर्ने मूल्य समायोजन  नपाउँदा निर्माण व्यवसायीहरू थप आर्थिक मारमा परेको उल्लेख छ ।

पत्रमा हाल आह्वान भइरहेका ठेक्काहरू पुरानै जिल्ला दररेटमा इस्टिमेट गरिएको र बजारमा निर्माण सामग्रीहरूसमेत सहज रूपमा उपलब्ध नभएको वर्तमान स्थितिमा न्यून अङ्कमा बोलपत्र पेस गर्दा भविष्यमा गम्भीर आर्थिक जोखिमका साथै कानुनी र प्राविधिक जटिलताहरू आउन सक्ने चेतावनी दिइएको छ ।

महासंघले निर्माण कार्यलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण व्यवसायीहरूलाई आयोजनाको अनिवार्य रूपमा स्थलगत भ्रमण गर्न, बोलपत्र कागजातहरूको गहन अध्ययन गर्न तथा सम्पूर्ण जोखिमको विश्लेषण गरेर मात्रै आफ्नो क्षमता अनुसारको उपयुक्त दररेटमा बोलपत्र पेस गर्न आग्रह गरेको छ ।

Share News